सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपालले सन्न्यास लिए हुन्छः योगेश भट्टराई

२०७९ असार १२, ०८:४३ खबर संवाददाता

काठमाण्डौँः नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिएका छन्। 

आज आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले सन्न्यास लिएर बस्न सुझाव दिएका हुन्। उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए।

उनले भने, ‘माधव नेपालजस्तो शीर्ष नेताले त्यो ढङ्गले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनुपर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आउँदो अवकाशको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी सुम्पेर आफू आनन्दले बस्ने हो। सन्न्यासी मान्छेले मुख छोड्दै हिँड्दैन।’

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरूले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए। समाजवादीका नेताहरूले एमालेले सर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे।

त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरूले घमण्ड त्यागेर समीक्षा गर्न आवश्यक रहेको बताए। उनले कम्युनिस्टहरूको जनमत लगभग दुई तिहाइ भए पनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए। उनले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखेका सर्तहरुमा छलफल हुन आवश्यक रहेको उल्लेख गरे। 

त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मूल घरमा फर्किन चाहनेहरूलाई एमालेले स्वागत गर्ने बताए। आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरूलाई एमालेले क्षमताअनुसारको जिम्मा दिने पनि उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस