सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झन्–झन् बढ्दै लागुऔषधका प्रयोगकर्ता, ‘चेन ब्रेक’ गर्न प्रहरीलाई हम्मे

२०७९ असार १२, ०६:१६

धनगढीः कैलालीमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्रै जिल्लामा २ सय ७३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्। 

आर्थिक वर्ष २०७६/७७ मा कैलालीबाट एक सय ६१ जना लागुऔषधका प्रयोगकर्ता प्रक्राउ परेका थिए। त्योबेला जिल्लामा ९८ ओटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा भने त्यो संख्या केही घटेको देखिएको छ। उक्त आर्थिक वर्षमा ९१ मुद्दा दर्ता भएका छन् भने एक सय ३२ जना पक्राउ परेका छन्। तर, चालु आर्थिक वर्षमा पक्राउ पर्ने तथा मुद्दाको संख्या ह्वातै बढेको छ। चालु आर्थिकमा लागुऔषधका एक सय ७१ मुद्दा दर्ता भएका छन् भने २ सय ७३ जना पक्राउ परेका छन्।

खुल्ला सीमा नाका, बेरोजगारी, परिवारको बेवास्ता लगायतका कारण युवाहरु लागुऔषधको लतमा फस्ने गरेका प्रहरीले जनाएको छ। लागुऔषध सेवन गर्नकै लागि पहिलो प्रयोगकर्ताले साथी थप्दै जाँदा कैलाली–कञ्चनपुर लागुऔषधको अखडा बन्न थालेको प्रहरीले बताएको छ।  एक जना सेवनकर्ताले आर्थिक स्रोत जुटाउनका लागि ५ जनालाई उक्त दुव्र्यसनमा संलग्न गराउँदै आएका छन्। यसरी नै ५ जनाले २५ लाई जोडिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

जिल्लामा लागुऔषधका प्रयोगकर्ताको संख्या वृद्धि हुँदै आएकाले समुदायबाट प्रयोगकर्ता बाहिर ल्याउने र सुधार केन्द्रमा राख्ने नीति स्थानीय तहको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रहरी प्रशासनले मात्रै लागुऔषध प्रयोगकर्ताको दलदललाई कम गर्न नसक्ने बताएका छन्। ‘कोभिडमा कन्ट्रयाक टेसिङ्ग भनिन्थ्यो, समुदायबाट संक्रमितलाई अलग गर्ने। जबसम्म त्यो हामीले गर्दैनौ, त्योबेलासम्म यो दुव्र्यसन कम हुँदैन’ उनले भने, ‘समुदायबाट प्रयोगकर्तालाई तानेर, कसलाई काउन्सिलिङ चाहियो ? कसलाई औषधि चलाउनुपर्ने हो ? त्यो बुझ्नुपर्छ। यो बारे हामीले सम्झौता पनि गर्दछौ। यो पटक नीति तथा कार्यक्रममा पनि राखेका छौ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्र सिँह राठोरले लागुऔषध प्रयोगकर्ताका लागि उपचार आवश्यक हुने बताएका छन्। उनले भने, ‘पक्राउ गरेर मात्र हुँदैन। डिमाण्ड र सप्लाई छ। डिमाण्ड बढेकाले सुधार केन्द्रसँग सम्झौताको योजना बनाएका छौं’ उनले भने।

कैलालीमा ब्राउनसुगर, गाँजा, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, चरेश लगायतका लागुऔषधको प्रयोग तथा व्यापार हुँदै आएको छ। प्रहरीको सक्रियता न्यून र खुल्ला सीमानाका कारण प्रत्येक वर्ष ठूलो संख्यामा युवाहरु लागुऔषधको लतमा फस्ने गरेका छन्।  जिल्लामा सुधार केन्द्र खुल्ने क्रम पनि जारी छ। तर, सरकारी स्तरबाट प्रभावकारी काम नभएकाले प्रयोगकर्ताहरुले समाजका अन्य युवाहरुलाई पनि लागुऔषधको जालोमा फसाउँदैछन्। 

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा भन्छन्, ‘मुल सप्लाई गर्ने को हो त ? सेवन गर्ने मान्छेलाई भन्दा पनि बिक्रेता को हो ? कहाँ बसेर गर्दैछ ? त्यसको खोजी गर्ने हो। त्यो अहिलेसम्म पनि पत्ता लागेको छैन। सामान्य ओसारपसार गर्नेहरुमा मात्र प्रहरी प्रशासनको ध्यान गएको छ।’

कैलाली र कञ्चनपुरमा आधा दर्जन बढी सुधार गृह सञ्चालनमा छन्। धनगढीको रिचमण्ड फेलोसिपले पनि कुलतमा फसेका युवाहरुलाई परामर्श तथा उपचार गर्दै आएको छ। धनगढीमा पहिरो आरम्भ नामक सुधार गृह पनि सञ्चालनमा छ। अत्तरियामा उग्रतारा सुधार गृह सञ्चालनमा छन्। तर निजी क्षेत्रबाट सञ्चालनमा रहेका सुधार गृहहरुको क्षमता न्यून छ। सरकारले कुलतमा फसेका युवाहरुका लागि कुनै कार्यक्रम नल्याएकाले उनीरुहको लत छुटाउन समस्या हुने गरेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस