सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अर्थमन्त्री संसद् छलेर काठमाडौंतिर, बैठक अनिश्चित

फाइल फोटो
फाइल फोटो
२०७९ असार १२, ०२:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बजेटमाथिको छलफल छोडेर संघीय राजधानी काठमाडौंतिर लागेका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल नेकपा एकीकृत समाजवादीको पार्टी बैठकमा सहभागी हुन काठमाडौं पुगेका हुन्।

अर्थमन्त्री रावल काठमाडौं गएपछि सुदूरपश्चिम प्रदेशसभामा बजेट प्रस्तुत भएको झन्डै दुई सातासम्म पनि छलफल सुरू हुन सकेको छैन। असार १ गते रावलले २०७९/०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। असार १ गते प्रस्तुत भएको बजेटमाथि ८ गते प्रदेशसभामा छलफल हुने कार्यसूची रहेको थियो। तर, सत्ता पक्ष र विपक्षबाटै विरोधपछि ८ गते प्रदेश सभा बैठक नै नबसी १३ गतेको लागि बैठक आह्वान गरिएको थियो।

१२ गते दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि आज नबस्ने भएको छ। सरकारले १२ गतेको बैठक १६ गते सम्म सारिदिन सभामुख अर्जुनबहादुर थापालाई आग्रह गरेपछि बैठक १६ गते सम्म सारिएको छ। सरकारको तर्फबाट प्रदेश अर्थमन्त्री रावलले नै सभामुख थापालाई फोन गरेर बैठक सारिदिन आग्रह गरेका थिए। यस अघि ८ गते कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बैठक स्थगित गरिएको भएपनि आज परामर्श समितिको बैठक नबसी स्थगित गरिएको हो।

बैठकमा अर्थमन्त्री नै नरहने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यता सत्ता साझेदार दल नेपाली कांग्रेसले भने सरकारले विरोध सहज नसक्ने भए पनि बैठक स्थगित गरेको आरोप लगाएको छ। यस्तै प्रतिपक्ष दल नेकपा एमालेले पनि बजेटमाथि छलफल हुन नसक्ने अडान राखेको छ। सुदूरपश्चिम सरकारले ल्याएको बजेटको विरुद्धमा अहिले सत्ता पक्ष र विपक्ष एकै ठाउँमा उभिएका छन्। उनीहरूले संयुक्त रूपमा बजेट संशोधन गर्नुपर्ने बताइरहेका छन्। बजेट संशोधन नगरेसम्म प्रदेश सभामा छलफल हुन नसक्ने उनीहरूको दाबी छ।

कमेन्ट लोड गर्नुस