सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर कमल थापाले भनेः प्रदेश संरचना खारेज गरे संघीयता संस्थागत हुन्छ

२०७९ असार ११, ०४:४६ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उनले भने, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुन्छ।’ उनले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए। प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ। 

यस्तै उनले अब कुनै पनि पार्टीसँग आफू एकता नगर्ने बताए। राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन्। राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको उनको दाबी छ। उनले पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए। उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी गरे।


 

कमेन्ट लोड गर्नुस