सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा अमेरिकामा आपतकालीन घोषणा

२०७५ फाल्गुन ४, ०९:४६ खबर संवाददाता

मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल बनाउने विषयमा संसदले बजेट स्वीकृत नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका छन्।
शुक्रबार ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने अमेरिकामा नशालु पदार्थ, मानव तस्करी र अपराधको खतराको बादल मडारिएको छ । त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन जरुरी छ। तर, राष्ट्रपति ट्रम्पको यो कदमको आलोचना भएको छ। आपतकाल घोषणाले संवैधानिक जिम्मेवारीप्रति राष्ट्रपति ट्रम्पको लापरवाहीलाई देखाउने हाउस ज्युडिसिएरी कमिटीले ठहर गरेको बीबीसीले जनाएको छ। साथै डेमोक्रेट्स सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको गलत प्रयोग गरेको टिप्पणी गर्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ।
तर ट्रम्पले भनेका छन् कि यस कदमविरुद्ध डेमोक्रेट्स सांसदले अदालतमा चुनौति दिने कुरा मलाई थाहा छ तर मलाई यो कुरा पनि थाहा छ कि अदालतले सुरक्षा संवेदनशीलतासँग जोडिएको विषयलाई पनि सुन्ने छ।ट्रम्पका अनुसार संकटकाल घोषणापछि सरकारी ढुकुटीबाट आठ बिलियन डलरसम्म रकम निकासा हुनेछ र त्यो रकमलाई पर्खाल लगाउन प्रयोग गरिने छ।
ट्रम्पले राष्ट्रपति चुनावमै मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल लगाउने कुरालाई आफ्नो एक प्रमुख एजेण्डा बनाएका थिए । राष्ट्रपति निर्वा्चित भएपछि उनले पर्खाल लगाउनका लागि ५.६ अर्ब डलरको बजेट माग गरेका थिए। तर गत डिसेम्बर महिनामा संसदले त्यसलाई अस्वीकार गरिदियो। त्यसको बदलामा ट्रम्पले अन्य विषयमा बजेट निकासाका लागि हस्ताक्षर गर्न अस्वीकार गरिदिए। त्यसपछि २२ डिसेम्बरबाट अमेरिकामा कामबन्दी अर्थात शटडाउन सुरु भयो। अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनका लागि आवश्यक बजेटको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलबीच विवादका कारण सरकारी कामकाज अहिले पनि ठप्प हुँदै आएको छ। यसअघि ट्रम्पले बजेट व्यवस्थाका लागि संसदले स्वीकृति नदिएमा वर्षौंसम्म कामकाज ठप्प भए पनि आफूलाई स्वीकार्य हुने बताएका थिए।
अमेरिकामा शटडाउनका कारण करिब आठ लाख कर्मचारीहरुले तलब पाएका छैनन् अर्थात उनीहरुलाई अस्थायी रुपमा कामबाट निकालिएको छ। जसका कारण अमेरिकाका सबै क्षेत्र प्रभावित हुँदै आएका छन्। एयर ट्राफिक कन्ट्रोलमा कर्मचारी अभाव हुँदा विमानस्थलहरुमा उडान ढिला हुने गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

कमेन्ट लोड गर्नुस