सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ : पूर्वउपसभापति निधी

२०७९ जेठ १३, ०५:५८ रासस

जनकपुर: नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुट्न सबैसँग आग्रह गरेका छन्। 

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित पदाधकारीको सपथ ग्रहण समारोहलाई बिहीबार सम्बोधन गर्दै पूर्वउपसभापति निधीले नगरको विकासमा सबैले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर सहमति, सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

दलीय पूर्वाग्रह नराखी सबैलाई समेटेर नगरको समग्र विकास गर्ने ठोस योजनाका साथ अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्दै उनले त्यसमा आफ्नो तर्फबाट हुनसक्ने पहल र प्रयत्न गरिरहने प्रतिबद्धता व्यक्तसमेत गरे। जनकपुरधाममा सडक, रेल र विमान सेवाको पूर्वाधार तयार भइसकेकाले यसको विकास र विस्तारमा ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्दै उनले यसका लागि दीर्घकालीन, अल्पकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए। 

जनकपुरधामलाई भारतको कोलकातासँग जोड्न सकिए जनकपुरधामको धार्मिक, सांस्कृतिक, व्यावसायिक र पर्यटनलगायतका क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका निधीले अयोध्याबाट जनकपुरधामसम्म निजी कम्पनीले सिधै विमान उडान गर्ने तयारी गरिरहेको जानकारीसमेत दिए। उनले जनकपुरबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन भइसकेको र जनकपुरधामदेखि अयोध्यासम्मको सडकलाई चार लेनमा स्तरोन्नतिको कामसमेत अघि बढीसकेकाले जनकपुरधामको धार्मिक, सांस्कृतिक विकासले थप गति लिने विश्वास व्यक्त गरे। 

मुलुकको धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटन विकासका लागि हिमाल, पहाड र तराई–मधेसलाई सडक सञ्जालमा जोड्नुपर्नेमा जोड दिँदै उनले जनकपुरधामभित्र रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका योजना बनाउन सुझावसमेत दिए। कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले नगरक्षेत्रका विकासलाई प्राथमिकता निर्धारण गरी जनअपेक्षाअनुसारको काम गर्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गरे। 

दलित बस्ती र पछाडि परेको वडालाई प्राथमिकतामा राखेर त्यहाँको जनताको चाहनाअनुरुपको योजना बनाएर अघि बढ्न सुझाव दिँदै उनले त्यसमा सबै पक्षले सहयोग गर्नुपर्ने बताए। सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले जनताको इच्छा आकाङ्क्षा पूरा गर्दै सुन्दर, समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गरे। अल्पकालीन, दीर्घकालीन र वार्षिक योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी पाँच वर्षभित्र जनकपुरधाममा ३० किलोमिटर बाइपास रिङरोड सडक बनाउने योजना रहेको सुनाए। 

पदभार ग्रहण गरेकै दिन आफूले नगरक्षेत्रको सरसफाइलाई वडास्तरमा विकेन्द्रीकृत गरेको जानकारी दिँदै नगरप्रमुख साहले नगरका २५ वटै वडालाई ट्र्याक्टरसहित सरसफाइका आवश्यक जनशक्ति र बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए। कार्यक्रममा नगरप्रमुख साहले उपप्रमुख, २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यलाई शपथ ग्रहण गराए।   
 

कमेन्ट लोड गर्नुस