सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरीको लाठी चार्जबाट खुट्टा भाँचियो, एसपी भन्छन्, ‘फेरि ठोकिन्छ’

२०७९ वैशाख ३१, १०:५६ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा समयमै मतगणना सुरु गर्न माग गर्नेमाथि लाठी चार्ज गरेको कैलाली प्रहरी उम्मेदवार र उनीहरुका समर्थकलाई धम्क्याउन थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी नायब उपरीक्ष सोमेन्द्रसिंह राठौर धम्क्याउन थालेका हुन्।

मतगणना गर्नका लागि शनिबार बिहान बसेको सर्वदलिय बैठकपछि राठौरले धम्की दिएका हुन्। ‘शुक्रबार राति प्रहरीले एक्कासी लाठी चार्ज गर्दा धनगढीकै स्थानीय नारायण रानाको खुट्टा भाँचियोको छ,’ राप्रपाका नेता पुष्करदत्त भट्टले भने, ‘उनको उपचारका लागि छलफल गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय कैलालीका एसपीले फेरि ठोकिन्छ भन्दै धम्की दिएर गए। सशस्त्र प्रहरीका एसपीले पनि उनलाई सघाए।’

जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरीका एसपीले धम्की दिएपछि त्यहाँ उपस्थित सबैले विरोध जनाएका थिए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी राठौरले यसबारे बोल्न चाहेनन्। शुक्रबार राति मतपेटिका संकलन भइसकेपछि विभिन्न उम्मेदवारका समर्थकले मतगणना सुरु गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए।

शान्तिपूर्ण रुपमा नारावाजी भइरहेको समयमा प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि रानासहित केही व्यक्ति घाइते भएका थिए। अहिले धनगढी उपमहानगरको मतगणना ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ। 

कमेन्ट लोड गर्नुस