सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाबुरामले सूर्य र प्रचण्डले रुखमा मतदान गरेपछि...

२०७९ वैशाख ३०, १२:५७ खबर संवाददाता

काठमाडौँः पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराईले आफू आवद्ध नभएको दललाई पनि मतदान गरेका छन्।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको चुनाव चिह्न रुखलाई मतदान गरेका हुन्।  यस्तै सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्का अध्यक्ष भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सूर्य चिह्नमा मतदान गरेका छन्। 

कांग्रेसको भागमा पर्‍यो प्रचण्डको नामावली भएको वडा स्थानीय तह निर्वाचनमा गरिएको तालमेलका कारण प्रचण्डले कांग्रेसका वडाध्यक्ष र भट्टराईले एमालेका  उपप्रमुखलाई मत दिएका छन्। प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा पर्ने शान्तिपुरको पुलिस स्कुल भवन मतदानस्थलबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारलाई मत दिएका हुन्। भरतपुरमा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेका कारण प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखमा मत हाल्नु परेको हो। गठबन्धनको सहमति अनुसार भरतपुर १४ मा कांग्रेसबाट वडाअध्यक्ष उठेका छन्। यस्तै भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ मा रहेको अन्नपूर्ण मावि भवन मतदान स्थलबाट एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेका हुन्। 

पालुङटारमा जसपाले नगर प्रमुख र एमालेले नगर उपप्रमुखका लागि आ–आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।

कमेन्ट लोड गर्नुस