सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राष्ट्रिय सभाका तीन पदका लागि आज निर्वाचन

२०७८ माघ ११, ०६:२९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ। कार्यालय प्रमुख प्रेमदत्त भट्टले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। बिहान ९ बजेदेखि सुरु हुने मतदान दिउसो ३ बजेसम्म चल्नेछ।’ मतदानका लागि प्रदेश सभाभित्रै दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए। ‘स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेशसभा सदस्यका लागि एउटा मतदान केन्द्र बनाएका छौ,’ भट्टले थपे। 

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन्। 

प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। ५२ जनामध्ये एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एकजना प्रदेशसभा सदस्य छन्।

प्रदेशसभामा एकीकृत समाजवादीको मतभार सबैभन्दा बढी ६७२ छ भने माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ। राजपा र लोसपाको ४८/४८ मतभार छन्। स्थानीय तहमा भने नेपाली कांग्रेस पहिलो स्थानमा छ। स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन्।

यसरी हेर्दा कांग्रेसको मतभार एक हजार ३३२ छ भने एमालेको एक हजार २७८ हुन्छ। माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २३४ छ। स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा एक हजार ९०८ हुन आउँछ। एमालेको एक हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ। 

राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार बुधबार निर्वाचन हुन लागेको हो। राष्ट्रियसभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्टको फागुन २० गते पदावधि सकिँदै छ। उनीहरुको स्थानमा राष्ट्रियसभा सदस्य निर्वाचित गर्न निर्वाचन गरिन लागेको हो।

कमेन्ट लोड गर्नुस