सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोकिने

२०७८ माघ १, ०१:४३ खबर संवाददाता

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ। विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ। ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ। निकटमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ। माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ।

यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएमा १० दिन विदा पाउनेछन् र उनले काम गर्ने शाखा ३ दिन बन्द हुनेछ।

कमेन्ट लोड गर्नुस