सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका जनतामाथि आदेशै–आदेश, राजनीतिक दलले उडाए प्रशासनको धज्जी

२०७८ पुष ३०, ०६:५१ खबर संवाददाता

धनगढी : बुधबार राति १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय कैलालीले १२ बुँदे आदेश जारी गर्दै भन्यो, ‘२५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन।’

उक्त आदेशपछि शैक्षिक संस्था बन्द भएका छन्। तयारी पूरा भइसकेका मेला, महोत्सव र खेलकुद प्रतियोगिता पनि रोकिए। आयोजकले जिल्ला प्रशासनले जारी गरेको आदेशको पालना गरे। प्रशासनको आदेशमा राजनीतिक कार्यक्रम गर्न पनि रोक लगाइएको छ। तर राजनीतिक दलले भने प्रशासनले जारी गरेको आदेशको धज्जी उडाएका छन्।

बिहीबार नेकपा एमाले जिल्ला कमिटी कैलालीको ८औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रम थियो। त्यहाँ निर्वाचित १५० जनासंगै सयौं नेता–कार्यकर्ताको सहभागिता थियो। संघीय सरकारका पूर्वमन्त्री लेखराज भट्टसहित सांसद, प्रदेशका पूर्वमन्त्री, प्रदेश सांसद र विभिन्न पालिकाका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो।

एमाले अधिवेशनमै सहभागी दर्जन बढी नेता–कार्यकर्तालाई कोरोना पुष्टि भए पनि उक्त पार्टीले भिड नियन्त्रणमा बेवास्ता गरेको हो। एमाले कैलालीका जिल्ला अध्यक्ष रतन थापाले भने, ‘बिहीबार सपथ ग्रहण कार्यक्रम गरेका छौं। अबका दिनहरुमा २५ जनाभन्दा बढी जम्मा नहुन सबैलाई आग्रह गरिएको छ।‘ उनले अधिवेशनमा सहभागी धनेरै नेता–कार्यकर्ता बिरामी परेको स्वीकारे। 

प्रशासनले आदेश जारी गरे पनि सत्तारुण नेपाली काँग्रेसले पनि धनगढीमा राजनीतिक कार्यक्रम रोकेको छैन। शुक्रबार काँग्रेस धनगढी नगर कार्यसमितिको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा धनगढीका मेयर नृपबहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट लगायतका दर्जनौं नेता–कार्यकर्ताको उपस्थिती थियो।

शुक्रबार वडा नम्बर ८ को प्रथम वडा कार्यसमितिको बैठक तथा माघी मिलन कार्यक्रम पनि गरिएको छ। सो कार्यक्रममा पनि मेयर, उपमेयरको सहभागिता थियो। उपमेयर सुशिला मिश्र भट्टले भने स्वास्थ्य मापदण्ड पूरा गरेर कार्यक्रम गरेको बताइन्। ‘कार्यक्रममा सहभागीता धेरै थिएन,’ उनले भनिन्, ‘भोलिदेखी २५ जनाभन्दा बढी जम्मा नहुन भनेकी छु।’

धनगढीका स्थानीय महेश चौधरीले जनताका लागि मात्रै आदेशमाथि आदेश जारी गरेको जनप्रतिनिधिमाथि कुनै वास्ता नगरेको बताए। ‘पर्व जस्तै गरेर आयोजना हुने मेला–महोत्सव हुन दिइएको छैन,’ उनले भने, ‘राजनीतिक दलले आदेशको खुलेआम उल्लंघन गरेका छन्।’

यता कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भीडभाड नगर्न आदेश जारी भइसकेको बताउँदै राजनीतिक दलले आदेशको पालना गर्नुपर्ने बताए। ‘हामीले स्पष्ट रुपमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएका छौं,’ उनले भने, जिम्मेवार दलबाटै आदेशको पालना नभए राम्रो सन्देश जादैन। अब हामी अनुगमनमा पनि जाने तयारीमा छौं।’

कमेन्ट लोड गर्नुस