सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी पत्रकारहरुले गरे बैठक बहिष्कार

२०७८ पुष ३०, ०१:४१ खबर संवाददाता

धनगढीः कपिलवस्तुको तिलौराकोटमा आज बिहानबाट सुरु भएको पत्रकार महासंघको बैठक माओवादी केन्द्र निकट पत्रकारहरुले बहिष्कार गरेका छन्। बहिष्कारपछि बैठक रोकिएको छ।

मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि नबनाइएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू बैठकस्थलबाट बाहिरिएको काँग्रेस निकटस्थ पत्रकारहरुले बताएका छन्। मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल मात्रै सहभागी भएकाले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनाबमोजिम प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छाडेर बाहिरिएको उनीहरुको आरोप छ।

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिएका थिए। तर कुनै रुलिङ नगरी पुरीले उनीहरूप्रति सद्भाव देखाएको महासंघका एक जना केन्द्रीय सदस्यले बताएका छन्। बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरू आफ्ना धारणा राखेर बाहिरिएका थिए। महासचिवले बहिष्कारका नाममा बैठकअघि नै सेन्टर निकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागमा बार्गेनिङ गर्ने रणनीति बनाएको काँग्रेसीहरुको आरोप छ। असन्तुष्टीका कुरा बैठकमा राख्नुको सट्टा बैठक सुरु नहुँदै बाहिरिनु अमर्यादित भएको लेखा समिति सदस्य मुकुन्द भण्डारीले बताएका छन्।

केन्द्रीय सदस्य रमेश खतिवडाले भने बैठक विधानसम्मत चल्नुपर्ने धारणा राखेका छन्। अवरुद्ध बैठक सुचारु गर्न पदाधिकारीहरू छलफलमा जुटेका छन्।

कमेन्ट लोड गर्नुस