सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्षमा पराजित भएका थापाले भने–राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो

२०७८ मंसिर १९, ०७:५१ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा पराजित भएका छन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका थिए भने थापाले एक हजार छ सय १७ मत ल्याएका थिए।

अध्यक्षमा पराजित भएपछि ट्वीट गर्दै थापाले भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।'

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउँदै भनेका छन्, ‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।'

उनले ट्वीटरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेन्सन गर्दै भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ तर उक्त ट्वीटर ह्यान्डल पूर्वराजाले चलाउने या नचलाउने गरेको भन्ने भने यकिन छैन।


 

कमेन्ट लोड गर्नुस