सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘नन्दु सरकार’को नाममा यसरी चल्छ गुण्डा समूह, ट्याटू खोपेको ५० हजार !

भूपेन्द्रको हत्यापछि लम्कीमा परिचालित सुरक्षाकर्मी
भूपेन्द्रको हत्यापछि लम्कीमा परिचालित सुरक्षाकर्मी
२०७८ मंसिर ८, १२:१० खबर संवाददाता

धनगढी : पछिल्लो समय कैलालीको लम्की, टीकापुर र चिसापानी क्षेत्रमा अपराधिक गतिविधि बढ्दै गएका छन्। टीकापुरमा त दुई हप्ताको अवधिमा १८ वर्षीय अनुप साउँद र भूपेन्द्र बडुवालको विभत्र्स हत्या नै भयो।

टीकापुर नगरपालीका वडा नम्बर ८ कालीमाटीका साउँदको कार्तिक १२ गते र लम्कीका बडुवालको कार्तिक २३ गते टीकापुरमा हत्या भएको थियो। 

बडुवालको हत्यामा लम्की, टीकापुर र चिसापानीमा सक्रिय गुण्डा समूह संलग्न रहेको प्रहरीले जनाएको छ। सोही गुण्डा समूहका आवद्ध रहेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक समेत गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होटल संगम चिसापानीका सञ्चालक नवीन रावल बडुवाल हत्या प्रकरणमा मुख्य आरोपित छन्। रावल अहिले फरार छन्।

उनले नेतृत्व गर्दै आएको समूह चिसापानी, टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। इलाका प्रहरी कार्यालय टीकापुर, लम्की र चिसापानीमा उनीविरुद्ध लुटपाट, आतंक र ज्यान मार्ने उद्योगमा पुराना उजुरी छन्। 

चिसापानीका एक स्थानीयले भने, ‘रावल विगतदेखि नै प्रहरीको फरार सूचीमा थिए। तर रावल लम्की, टीकापुर र चिसापानीमा प्रहरीकै आँखा अगाडि हुन्थे। पक्राउ गर्न प्रहरीको चाँसो नै थिएन।’ 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार लम्की, टीकापुर र चिसापानीमा ‘नन्दु सरकार’ नामको गुण्डा समूह छ। ‘उक्त समूहको नेतृत्व नवीनले गर्दै आएको खुलेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘उक्त समूहमा आवद्ध सबैले सामाजिक सञ्जालमा लेख्ने पोष्टहरुमा समेत नन्दु सरकार ह्यासट्याग राख्ने गरेका थिए। अहिले भने सबैले आइडी डिएक्टिभ गरेका छन्।’

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पनि उक्त कुरा स्वीकार गरे। ‘नन्दु सरकार, छोटे सरकारको नाममा समूह चलाएको खुलेको छ,’ उनले भने। लम्कीका एक स्थानीयका अनुसार नन्दु सरकारको समूहमा आवद्ध हुन इच्छुकले नन्दु सरकार लेखेको ट्याटू खोप्नुपर्ने र सोबापत सुरुवातमै आवद्ध भएका व्यक्तिले ५० हजार नगद पाउने गरेका थिए।

उक्त समूहले ढुङ्गा गिट्टीका ठेकेदार र काठ व्यापारीबाट पनि पैसा असुल्दै आएको थियो भने सो क्षेत्रमा सरकारी योजना कार्यान्वयन गर्दा पनि कमिसन माग्ने गरेको थियो।  हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सक्रिय छ।

कमेन्ट लोड गर्नुस