सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सार्वजनिक भवनका लागि एमाले र एकीकृत समाजवादीबीच रडाको

२०७८ कार्तिक ११, १०:४१ खबर संवाददाता

धनगढी: कैलालीमा नेकपा एमाले र नेकपा (एकीककृत समाजवादी)बीच विवाद बढ्दै गएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा सार्वजनिक भवन कब्जा गर्न दुई पार्टीबीच प्रतिस्पर्धा हुन थालेपछि विवाद बढेको हो। गौरीगंगा नगरपालिकामा रहेको प्रतिक्षालय कब्जा गर्दै विगतदेखि नै नेकपा एमालेले पार्टी कार्यालय सञ्चालन गरेको थियो। उक्त प्रतिक्षालय निर्माण गर्नका लागि तत्कालिन चौमला गाविसले बजेट विनियोजन गरेको थियो भने थप खर्च गर्दै पार्टी कार्यालय बनाइएको हो। 

अहिले चौमालामा रहेको उक्त प्रतिक्षालय भवन प्रयोगका लागि दुई पार्टीबीच रडाको भएको छ। सार्वजनिक भवन नेकपा एमालेले प्रयोग गर्दै आएकोमा एकीकृत समाजवादीले पनि भाग खोजेपछि विवाद सृजना भएको हो। नेकपा एकीकृतका गौरीगंगा नगर अध्यक्ष विष्णु आर्चायले सार्वजनिक भवनका लागि दुई पार्टी बिचको लफडा हुँदै आएको स्वीकार गरे। उनले भने, ‘हामीले छलफलबाट समस्याको समाधान खोजेका थियौ। माथिल्लो तला एमालेले प्रयोग गर्ने र भुई तला हामीले प्रयोग गर्ने योजना बनाएका थियौं। तर सहमति भएन्।’ 

यता एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले उक्त भवनमा विगतदेखि नै एमाले पार्टी कार्यालय सञ्चालन भइरहेको बताउदै एकीकृत समाजवादीले भाग खोज्नु गलत भएको बताए। दुई पार्टीबीच विवाद भएपछि अहिले उक्त भवन प्रशासनले आफ्नो नियन्त्रणमा राखेको छ। 

कमेन्ट लोड गर्नुस