सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको स्तरोन्नती ४ वर्षभित्रै ४ अर्बमा हुन्छः मन्त्री आले

२०७८ कार्तिक १०, ०७:१० खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्न रियल पथ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको २० वर्षे गुरुयोजनाले १२ अर्ब १४ करोड लगानी आवश्यक पर्ने देखाएको देखाएको थियो। स्थानीयको २२७ विघा जमिन अधिग्रहण गरेर विमानस्थल बिस्तार गरिने भन्दै गुरुयोजना सार्वजनिक गरिएको थियो। गुरुयोजना अनुसार तत्काल काम अघि बढाइने भन्दै २०७६ माघ २५ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको टोली धनगढी आइपुगेको थियो। तर गुरुयोजना सार्वजनिक बाहेक अहिलेसम्म कुनै काम हुन सकेन।

विमानस्थलको अध्ययन र निरीक्षण गर्न भन्दै बुधबार पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेसहित प्राधिकरणको टोली धनगढी पुगेर निजी क्षेत्रसँग त्यसैगरी छलफल गरेको छ। यसअघि तयार पारिएको २० वर्षे गुरुयोजनालाई थप अध्ययन र फिल्ड अवलोकनका लागि पर्यटन मन्त्रीसहितको टोलीले निजी क्षेत्रसहित सरोकारवालासँग छलफल गरेको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। ‘विमानस्थल स्तरोन्नतीलाई जतिसक्दो छिटो कार्यान्वयन गर्न मन्त्रीसहितको टोलीले छलफल चलाएको हो’ उनले भने। 

पहिले धनगढी विमानस्थलको उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना सार्वजनिक गरिएको थियो। ती स्थानहरुमा स्थानीयले पक्की भौतिक संरचना बनाउन समेत छोडेका छन्। तर गुरुयोजना अनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन। 

अहिले मन्त्रीसहित प्राधिकरणको टोली अहिले पुनः विमानस्थल स्तरोन्नतीको प्रक्रिया अघि बढाउन भन्दै थप अध्ययन र निरीक्षणका लागि धनगढी आइपुगेको छ। छलफलका क्रममा विमानस्थल स्तरोन्नती गर्न करिब १५ अर्ब लगानी आवश्यक पर्ने देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए। 

गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड लगानी आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। पहिलो, दोस्रो र तेस्रो चरणमा गरी २० वर्षे गुरुयोजना तयार पारिएको थियो। 

तर पर्यटनमन्त्री प्रेम आलेले भने प्रदेश सरकारको २० प्रतिशत लगानीसहित ४ अर्बमै ४ वर्षभित्र विमानस्थल स्तरोन्नती गर्न सकिने दाबी गरेका छन्। छलफलका क्रममा उनले भने, ‘१२ अर्ब होइन हामी ४/५ अर्बमै ४ वर्षभित्र निर्माणको काम सम्पन्न गरेर देखाउँछौँ। म झुटो बोल्दैन, जे बोल्छु त्यो गरेर देखाउँछु।’ मुआब्जा यसै वर्षदेखि दिन सुरु गरिने उनले बताए।

गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। तर मन्त्री, नेता तथा सम्बन्धित अधिकारीहरुले सपना मात्र देखाउने अवस्थाका कारण विमानस्थल स्तरोन्नतीको कामले भने अझै पूर्णता पाउन सकेको छैन।

कमेन्ट लोड गर्नुस