सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक आमा भन्छिन्, ‘परिवार पाल्न छोरी बेचिदिएँ’

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ कार्तिक १०, ०१:१५ खबर संवाददाता

धनगढीः ‘मेरा बाँकी बच्चा भोकले मर्नै लागेका थिए, त्यसैले मैले आफ्नी छोरी बेचिदिएँ,’ अति खराब अवस्थाबाट गुज्रिरहेको अफगानिस्तानकी एक महिला भन्छिन्। बिबिसीको रिपोर्टमा ती महिलाको परिचय खुलाइएको छैन। उनले भनेकी छन्, ‘आफ्नै बच्चा बेच्नु पर्दा मलाई निकै दुःख लागिरहेको छ। बाँच्नका लागि मैले आफ्नी छोरी बेच्नु नपरेको भए, कति राम्रो हुन्थ्यो’

ती बच्चीका बाबु कवाडी खोज्ने काम गर्छन्। त्यो कामबाट उनले परिवार पाल्न सकिरहेका छैनन्। उनले भने, ‘हामी भोको छौं। हाम्रो घरमा न पिठो छ न त तेल नै। हामीसँग केही पनि छैन।’ बेचिएकी ती बच्चीको उमेर केही महिनाको मात्रै भएको छ। बाबु थप्छन्, ‘मेरी छोरीको भविष्य उनलाई थाहा छैन। मलाई पनि थाहा छैन, तर मैले उनलाई बेच्नुपर्यो’ ती बच्चीलाई खरिद गर्ने मानिसले ५०० अमेरिकी डलर भुक्तान गरेको छ। उक्त रकमबाट त्यो परिवारले केही महिना जीवन चलाउन सक्छ। बच्चा खरिद गर्ने मानिसले अहिले नै तिनलाई आफूसँग लगेको छैन। खरिदकर्ताले बच्चीसँग आफ्नो छोराको बिहा गरिदिने त बताएको छ, तर यसको यकिन भने छैन।

बिबिसीको रिपोर्ट अनुसार, अफगानिस्तानमा आफ्नो बच्चा बेच्ने परिवार थुप्रै छन्। त्यहाँ सरकारी सेवा ठप्प भएको छ, कतिपय मानिसहरू बाँच्नका लागि संघर्ष गरिरहेका छन्। बिरामी परेका मानिसको उपचार कठिन बन्दै गएको छ। बढी मात्रामा बिरामी परेका बच्चाहरूको मृत्यु हुन थालेको छ। सत्तामा तालिबान फर्किएपछि अफगानिस्तानले पाउँदै आएको अन्तर्राष्ट्रिय सहयोग पूर्ण रूपमा बन्द भएको छ। तालिबान सरकारलाई मान्यता दिने सवालमा पनि विभिन्न देशबीच फरकफरक मत सार्वजनिक भइरहेका छन्। यसैबीच, संयुक्त राष्ट्रले कडा चेतावनी दिँदै अफगानिस्तानलाई तत्कालै सहायता नगर्ने हो भने, त्यहाँ लाखौं मानिसको मृत्यु हुने बताएको छ।

गत अगस्ट महिनामा अफगानिस्तानको सत्ता तालिबानी लडाकूले कब्जा गरेका थिए। सोही समयदेखि उक्त मुलुकको खराब दिन सुरु भएको हो । त्यो देश र त्यहाँका जनता सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेका छन्। राज्यले प्रदान गर्नुपर्ने आधारभूत सुविधा कमजोर भएको छ भने अफगान नागरिक अहिले भोकले तड्पिरहेका छन्। भोक मेट्नकै लागि तिनले आफ्ना कलिला र प्यारा सन्तानसमेत बेच्न थालेका हुन्। 

अफगानी ती आमाले परिवारका सदस्य र बाँकी रहेका बालबच्चालाई भोकबाट जोगाउन आफ्नी केही महिनाकी छोरी बेचिदिएको घटनाले संसारभरका मानिसलाई पीडा दिएको छ। तर संसारका धनी देशहरू र अन्तर्राष्ट्रिय संघ(संस्था अझै पनि अफगानिस्तानमा मानवीय सहयोगका लागि अग्रसर देखिएका छैनन्। यो अवस्थाले ती संघसंस्थाको औचित्यमाथि नै प्रश्न उठ्ने स्थिति उत्पन्न भएको छ।

कमेन्ट लोड गर्नुस