सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवादकाबीच जापानकी राजकुमारीद्वारा सर्वसाधारण युवकसँग विवाह

२०७८ कार्तिक ९, ०३:५१

टोकियो: जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन्। विवादकाबीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छिन्। त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन्। 

जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ। विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो। उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन। 

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन्। उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन्। विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएकी छिन्। उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छिन्। 

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ। राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरुको विवाहका बारेमा टिकाटिप्पणी हँुदै आएको थियो। विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ। -एएफपी

कमेन्ट लोड गर्नुस