सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले भनेः परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न !

२०७८ कार्तिक ९, ०२:३२ खबर संवाददाता

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन्। उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे।

एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले केके गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ। आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन्। यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

अदालतलाई मर्यादित र निर्विवाद बनाउन ओलीले सुझाव दिए। अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन उनको आग्रह छ। ओलीले थपे, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने। यो राखे आफू नबस्ने भन्ने। बारले इजलास गठन गर्ने। अधिवक्ताले इजलास गर्ने। पोल खोलाखोल गर्दै गर्ने। यो ठीक भएन।’

कमेन्ट लोड गर्नुस