सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका शक्तिपीठमा भक्तजनको घुइँचो

निङ्गलाशैनी भगवती मन्दिर
निङ्गलाशैनी भगवती मन्दिर
२०७८ असोज २७, ०३:३२ खबर संवाददाता

धनगढी : हिन्दू नेपालीहरूको महान् चाड बडादसैंको महाअष्ठिमीका दिन सुदूरपश्चिमका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। डडेल्धुरा, बैडी, डोटी लगायतका ज्लिलामा रहेका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो। 

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ। हिजो सप्तमीका दिन सुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलीसहित सम्पन्न हुने गर्दछ। आज लागेको जात्रामा झण्डै तीन सय रांगाको बली दिइएको छ। जात्रामा बैतडीसहित छिमेकी जिल्लाहरु र भारतबाट समेत दर्शनार्थीहरु पुगेका छन्। 

यता डोटी जिल्लाका विभिन्न मठमन्दिर तथा शक्तिपीठहरुमा आज भक्तजनको घुइँचो लागेको छ। शैलेश्वरी, कालिका, निरौली भगवती, दीपायल भगवती, सालमुनि मन्दिरलगायत ठाउँमा भक्तजनको घुइँचो लागेको छ।

जिल्ला सदरमुकाम सिलगढीस्थित प्रसिद्ध मन्दिर शैलेश्वरी छेउमा रहेको कालिका मन्दिरमा भक्तजनको निकै बाक्लो भीड छ। इच्छा आकाङ्क्षा पूरा गर्न, भाकल पूरा गर्न र धार्मिक आस्थाले पनि भक्तजन मठमन्दिर पुग्ने गर्दछन्। दसैँ सुरु भएसँगै देशविदेशबाट जिल्ला आइपुगेका स्थानीयवासी पनि शक्तिपीठ तथा मन्दिर पुग्ने गरेका कारण जिल्लामा चहलपहल पनि निकै बढेको शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रमेश बोगटीले बताए। उनले भने, “गत पर्व कोरोनाले खासै चहलपहल तथा भक्तजन मठमन्दिरमा आएका थिएनन्, यो वर्ष कोरोना खासै नभएका कारण अहिले पशु बलि दिने तथा पूजा गर्न आउने भक्तजनको भीड लागेको छ।”

दुर्गा पक्ष सुरु भएसँगै शक्तिपीठमा भक्तजनको चहलपहल एकाएक बढेको छ। गत वर्ष दुर्गा पक्ष सुरु भएका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले र स्थानीय प्रशासनले मठ मन्दिरमा पूजाआजाका लागि खासै रोकतोक नलगाएका कारण पनि शक्ति पीठमा बिहानदेखि भक्तजनको भीड लागेको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीयवासी रामबहादुर धामीले बताए। 
 

कमेन्ट लोड गर्नुस