सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

२०७८ भदौ ३१, ०२:३४ खबर संवाददाता

कैलाली : नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालकसहित सात जनासंग ५१ करोड बढी धरौटी माग भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड बढी धरौटी माग गरिएको हो।

आन्तरिक राजस्व कार्यालय कैलालीका सूचना अधिकारी हिरानन्द देवकोटाका अनुसार सात जनाबाट जनही सात करोड २९ लाख ५६ हजारका दरले धरौटी माग भएको थियो। ‘विगोअनुसारको धरौटी माग भएको थियो,’ देवकोटाले दिनेशखबरलाई भने, ‘तर धरौटी कसैले पनि तिर्न नसकेपछि सात जनालाई नै कारागार चलान गरिएको छ।’

प्रारम्भिक अनुसन्धानका क्रममा उद्योगले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको खुलेको छ। विस्तृत अनुसन्धान भने अहिले पनि राजस्व अनुसन्धान विभागले गरिरहेको छ। उद्योगले ५० युपीको सस्तो मदिरा उत्पादन गर्दै आएको थियो। प्रहरीले साउन अन्तिम साता आन्तरिक राजस्व विभागको स्टीकरसहित सुरुमा पाँच जनालाई पक्राउ गरेको थियो।

जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारत बस्ने वर्ष १९ का संजित कुमार, वर्ष २० का रिङ्कु कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने वर्ष ४० का राजकुमार शाह, पर्सा विरगंज नगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ का विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारत बस्ने वर्ष २२ का सुरेशकुमारलाई पक्राउ गरिएको थियो। त्यसपछि उद्योग सञ्चालक र लेखापाललाई पनि हाजिर भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। 

मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका वडा नं.७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा आन्तरिक राजस्व बिभाग लेखिएको ७७ रोल (२,८८,६७४) स्टीकर फेला परेको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टीकरका रोलहरुमध्ये १३ रोल स्टीकरमा एउटै सिरियल नम्बर भेटिएको थियो। आन्तरिक राजश्व कार्यालय धनगढीसंग समन्वय गर्दै प्रहरी टोलीले वेष्टर्न लिकर्स प्रालि (मदिरा उद्योग) सिल गरेको थियो।

याे पनि : कैलालीमा राजस्व विभागको ७७ रोल स्टीकरसहित ५ जना पक्राउ, मदिरा उद्योग सिल

कमेन्ट लोड गर्नुस