सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालिबानले पूर्व सरकारबाट जफत गर्‍यो १ करोड २४ लाख डलर

२०७८ भदौ ३१, १२:३० खबर संवाददाता

काठमाडौंः अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेको केन्द्रीय बैंकले पूर्व वरिष्ठ सरकारी अधिकारीबाट एक करोड २४ लाख डलरको नगद र सुन जफत गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले पूर्व सरकारका उपराष्ट्रपति अमरुल्लाह सलेह लगायतका वरिष्ट सरकारी अधिकारीबाट उक्त नगद तथा सुन जफत गरिएको हो।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार यी सबै पैसा तथा सुन उनीहरुको घरमा राखिएको थियो। तर, के प्रयोजनका लागि उक्त पैसा राखिएको हो भन्ने खुल्न सकेको छैन। पूर्व सरकारका उपराष्ट्रपति सलेह अहिले कहाँ छन् भन्ने थाहा छैन। उनले तालिबानविरुद्ध लड्ने बताउँदै आउका छन्। गत साता उनको परिवारका एक सदस्यले बताएअनुसार तालिबानले उनको भाइ रोहुल्लाह अजिजिको हत्या गरेको थियो। अर्को एक विज्ञप्तिमार्फत केन्द्रीय बैंकले अफगान नागरिकलाई आफ्नो मुलुकको राष्ट्रिय मुद्रा प्रयोग गर्न आग्रह गरेको छ। अफगानिस्तानको बैंक र कम्पनीमा अहिले पैसा अभाव देखिएको र विशेषगरी सबैभन्दा धेरै प्रयोग हुने अमेरिकी डलरको कमी भएको समाचार आएको थियो।

तालिबानले पूर्व सरकारमा रहेका मानिसहरुको सम्पत्ति जफत गर्ने योजना बनाइरहेको केही संकेत देखिएको छ। गत साता केन्द्रीय बैंकले स्थानीय बैंकहरुलाई राजनीतिकरुपमा मुछिएका मानिसहरुको खाता प्रिmज गर्न निर्देशन दिएको दुई कमर्सियल बैंकरहरुले बताएका छन्। एजेन्सी

कमेन्ट लोड गर्नुस