सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मन्त्रिपरिषद् ‘एक हप्ताभित्र विस्तार हुन्छ’

२०७८ भदौ ३०, ११:२१ खबर संवाददाता

धनगढी: नेकपा (एकिकृत समाजवादी)को संसदीय दलको नेता चयन भएसँगै सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एकिकृत समाजवादीले नै रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री पाउने सम्भावना छ। एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले एक हप्ताभित्र प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने बताइन्। उनले भनिन्, ‘संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनु भएको छ। एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ।’

कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य तारा लामा तामाङको प्रस्तावमा मन्त्री सोडारी पार्टीको संसदीय दलको नेतामा चयन भएका थिए। प्रदेशसभा सदस्य लामाले आर्थिक मामिला तथा योजना मन्त्री पाउने चर्चा छ।

तर दलका नेता सोडारीले सो विषयमा कुनै निर्णय र सहमति नभएको बताए। उनले भने, ‘अहिले नै मन्त्री को हुने विषयमा टुंगो लागेको छैन।’ सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकिकृत समाजवादीका १४ सांसद छन्। माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, एमालेका सभामुखसहित ११, जसपा र लोसपाका एक/एक जना सांसद छन्।

कमेन्ट लोड गर्नुस