सुदूर नेपाललाई विश्वसँग जोड्दै

रावल र भट्टको फरक कार्यक्रममा एउटै दाबी : एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ

२०७८ भदौ २९, ०४:३१ खबर संवाददाता

धनगढी : एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट गृह प्रदेश सुदूरपश्चिममा छन्। रावल मंगलबार धनगढी पुगेका हुन् भने भट्ट सोमबारदेखि नै सुदूरपश्चिममा छन्। रावलले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्। भट्टले कञ्चनपुरमा घोषणा गरिएको सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनसंगै पत्रकार सम्मेलनमा सहभागी भए। 

फरक कार्यक्रममा दुबै नेताले एउटै दाबी गरेका छन्। धनगढीमा सम्बोधन गर्दै रावलले आफू एमाले उपाध्यक्ष र सुदूरपश्चिम इञ्चार्जको हैसियतमा रहेको बताए। ‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतामा छु,’ रावलले कार्यकर्ता भेला सम्बोधनको क्रममा पटकपटक भनेका थिए। ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने। 

उता कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टले एमाले सदूरपश्चिमको इन्चार्ज आफू नै भएको दाबी गरेका छन्। पूर्वमन्त्री समेत रहेका भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेका हुन्। इन्चार्जको विषयमा कुनै विवाद छैन।’

एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए भने रावल १० बुँदे सहमतिअनुसार पार्टी जेठ २ मा फर्किएको र सो अनुसार आफू नै सुदूरपश्चिम इञ्चार्ज भएको बताउँदै आएका छन्।

कमेन्ट लोड गर्नुस