प्रचण्ड धोकेबाज नेता हुन्, उनकाे पछि लागेर जिन्दगी नबिगार्न आग्रह गर्छु: ओली
झापा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन्। उनले दाहाललाई धोकेबाज नेताको संज्ञा दिएका छन्।
मंगलबार गृह जिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै उनले भने, ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो। नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन्।’
दाहालले केही दिनअघि प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आफू आगो भएको र आफूलाई नजिस्क्याउन चेतावनी दिएका थिए। ओलीले आज झापा पुगेर त्यसको जवाफ दिएका हुन्।
‘केको आँटले धम्क्याउन खोज्या हो अहिले पनि अचम्म ला’छ। प्रचण्डको पछि लागेर जिन्दगी नबिगार्न म आग्रह गर्दछु। कसैको बुहारी, ज्वाईँ छोरी अनेकका लागि तपाईँहरु बलिदान नदिनुस् देश बनाउन आउनुस्,’ उनले भने।