सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित, ठेकेदार सांसदले भने,'आश्चर्य नमानौँ'

२०७८ साउन १७, ०५:०९ खबर संवाददाता

काठमाडौंः सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका  छन्। आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको सडक पुल र कमला नदीको पुलमा भएको क्षतिबारे भएको छलफलमा सडक विभागको कुरा सुनेपछि  उनीहरूले आश्चर्य व्यक्त गरेका हुन्। 

छलफलमा सडक विभाग पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी गराएका थिए। उनीहरूले पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए। सांसदहरू कमला रोका र मिनाक्षी झाले पक्की पुल कसरी हावाले उडाउँछ भन्दै प्रश्न गरे।

सांसद कमला रोकाले असारे विकासका रूपमा कमसल काम गरेका कारण सडक पूर्वाधारमा क्षति हुने गरेको उल्लेख गरिन्। उनले हावाले पुल उडाएको त्यो कस्तो खालको पुल हो भन्दै आश्चर्य व्यक्त गरिन्। उनले कमला नदीमा भत्किएको पुलको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरिन् । यस्तै सांसद मिनाक्षी झाले पनि हावाले पुल कसरी उडायो भन्दै आश्चर्य व्यक्त गरिन्। 

निर्माण व्यवसायी समेत रहेका अर्का सांसद बहादुरसिंह लामाले भने हावाले पुल उडाउने कुरा सुनेर आश्चर्य नमान्न आग्रह गरे। उनी अगाडि बोलेका सांसदले सडक विभागका कर्मचारीलाई प्रश्न गरे पछि सांसद लामाले नै त्यसको जवाफ दिएका थिए। उनले निर्माणाधीन पुलमा नट बल्टु पूर्ण रूपमा कसिएको नहुने तथा बेरिङ बलियो नहुने लगायत प्राविधिक कारणले बन्दाबन्दैको पक्की पुल सानो बल प्रयोग हुँदा भत्किने जवाफ दिए। 

सडक विभागका अनुसार यो वर्ष मनसुनी वर्षाका कारण २ अर्ब १६ करोड हाराहारी सडक पुल पूर्वाधारमा क्षति भएको छ। यस्तै यो वर्ष २४ पक्की पुल बाढी पहिरोबाट क्षति  भएको र ९ वटा पुल नदीले बगाएको विभागले समितिलाई जानकारी गराएको छ। मेलम्चीमा मात्रै ५ वटा पुल बगाएको छ।

यो वर्ष मनसुनबाट आएको बाढी पहिरोबाट देशभरका राजमार्गमा १ सय ५३ स्थानमा सडक अवरुद्ध भएको छ। १ अर्ब  ८० करोड  रुपैयाँ हाराहारी अरनिको राजमार्गमा मात्रै क्षति भएको सडक विभागको भनाइ छ। 

अरनिको राजमार्गमा ठाउँ ठाउँमा सडक कटान भएकाले सडक मर्मत चुनौती रहेको विभागको भनाई छ। बझाङमा अवरुद्ध भएको सडक खोल्ने काम गरेको र लमजुङ बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खुलाउने काम भएको सडक विभागको भनाई छ।  चामे सडकमा ५ वटा काठे पुल बगाएको र स्थानीयलाई अस्थायी पुल बनाउन दिइएको छ। सो क्षेत्रमा  ६५ किमी सडक मध्ये अब १३ किमी सडक बनाउन बाँकी रहेको र दशैअघि सम्पन्न हुने सडक विभागको भनाइ छ।  साँफेबगर मार्तडी सडकमा २र३ किमी सडक पहिरो गएकोले तत्काल सडक मर्मत गर्न सम्भव नभएको विभागको भनाइ छ।

कमेन्ट लोड गर्नुस