सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका तीन नेताको निष्कर्षः महाधिवेशन भदौमा नभए पार्टी संवैधानिक संकटमा फस्ने

२०७८ साउन १६, ०६:२९ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका दाबेदार तीन नेताबीचको छलफल सकिएको छ। गणेशमान पुत्र प्रकाशमान सिंह निवासमा बीपी पुत्र एवम् कांग्रेस शशांक कोइराला र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिबीच भएको छलफलले महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने निष्कर्ष निकालेको हो। 

कांग्रेस उपसभापतिसमेत रहेका निधि भारतको दिल्लीबाट फर्किएलगत्तै तीन नेता आन्तरिक छलफलमा जुटेका थिए। कांग्रेसमा प्रभावशाली मानिने तीन नेताबीचको छलफलले संवैधानिक बाध्यतासमेत ख्याल गरेर भदौमै महाधिवेशन गर्नुपर्ने अडान राखेको हो। 

चाक्सीबारी बैठकका आयोजक नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले तीन नेताबीचको बैठकले भदौमा महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा फस्ने निष्कर्ष निकाललेको बताए। 'संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने काममा कांग्रेस जुट्नुपर्छु, तीन नेताको बैठकको निष्कर्ष सुनाउँदै लामिछानेले भने, 'भदौ पछाडि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्नेतर्फ पनि विचार गर्नु जरुरी छ।'

तीन नेताबीचको बैठकले पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकलाई कोरोना खोप उपलब्ध गराउने कुरालाई मुख्य प्राथमिकता दिनुपर्ने पनि निचोड निकालेको छ। 'कांग्रेस नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री देउवाले भन्नु भएजस्तै सबै नागरिकलाई खोप दिलाउन ध्यान दिनुपर्छु, तीन नेताले भनेका छन्, सरकाले वचन दिए जस्तै समयमा खोप ल्याएर नागरिकको जीवन रक्षामा केन्द्रित हुनु आवश्यक छ।'

निधि दिल्लीबाट फर्किएपछि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेका तीन नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित यो चौथो छलफल हो। यसअघि पनि चाक्सीबारीमै उनीहरुबीच पटक पटक छलफल भएको थियो।

आशन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका नेताहरुबीच गत असार पहिलो साता उपसभापति निधिको वैवाहिक वर्षगाँठको अवसर पारेर छलफल सुरु भएको थियो। संस्थापन पक्षकै निधिले कांग्रेसको महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरिसकेका छन्। त्यस्तै महामन्त्री कोइराला र गणेशमान पुत्र प्रकाशमान पनि सभापतिका दाबेदार हुन्। 

कमेन्ट लोड गर्नुस