सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको इराकी प्रधानमन्त्रीको भनाइ

। फोटो स्रोत ।
२०७८ साउन १६, ०५:२७

बगदाद: इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले उनले हालै गरेको अमेरिका भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाउन सघाएको जानकारी दिएका छन्।

उनले आफूले हालै गरेको सो भ्रमणबाट इराक र अमेरिकाबीचको सम्बन्धलाई थप स्थायी बनाएको बताएका हुन्। अमेरिकाको भ्रमणको एक दिनपछि उनको यो प्रतिक्रिया आएको छ। उनले अमेरिकाको भ्रमण सकेर स्वदेश फर्किएपछि यो कुरा बताएको उनका सञ्चार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।   

उनले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेन र अरू अमेरिकी उच्च अधिकारीहरुसँग भेट गरेका थिए। उनले राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा द्विपक्षीय वार्ता गरेका थिए। आफूले गरेको अमेरिका भ्रमणका क्रममा सुरक्षा, अर्थ, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा द्विपक्षीय सहयोग र समझदारी गर्ने विषयमा सहमति भएको र यी क्षेत्रमा इराकका लागि ठूलो सहायता मिलेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री कादिमीले आफ्नो भ्रमणका क्रममा नै अमेरिकालाई इराकबाट सेना फिर्ता गर्न भनेका र अमेरिकाले यसै वर्षको अन्तिमसम्ममा अमेरिकाले आफ्ना सबै सेना फिर्ता गर्न सहमत भएको पनि सो विज्ञप्तिमा जनाइएको छ।कादिमीसँग भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताएका छन्।

उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालीम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन्। इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन्। इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतङ्ककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ। हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेका छन्।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ। यो घोषणाको इराकले भने स्वागत गरेको छ। इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताएका थिए। उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन्, हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालीमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस