सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोपसहित होटेलबाट स्वास्थ्य कर्मचारी पक्राउ

२०७८ साउन १५, ०७:०२ खबर संवाददाता

झापा : होटलबाट कोरोनाविरुद्धको खोपसहित बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय युवाहरूले बिर्तामोड नगरपालिका–१ स्थित होटेल टाएमलेस मोमेन्टबाट १०० भायल खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई शुक्रबार दिउँसो रंगेहात समातेका हुन्।

होटलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यत्र लुकाएका थिए। लुकाइएको खोप होटलको प्रतीक्षालय कक्षको टेबलमा फेला परेको थियो।

खड्काले सोही होटलभित्र आफ्ना निकट व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि स्थानीय युवाहरू त्यहाँ पुगेका थिए। होटेलमा खोप भेटिएपछि भेला भएका युवाहरूले आक्रोश पोख्दै भने, ‘दिनभरि लाइनमा लागेका नागरिकले खोप लगाउन नपाउने र स्वास्थ्य शाखाका प्रमुख खडकाले चाहिँ खोप होटलमा ल्याएर लगाउने, यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनुपर्छ।’

यता खोपसहित स्वास्थ्य शाखाका खड्का समातिएको खबर प्रहरी समक्ष पुग्न साथ इलाका प्रहरी कार्यालय अनारमनीको टोली तुरुन्त घटनास्थल पुगेका थिए।

त्यसपछि प्रहरीले १०० भायल खोपसहित खड्कालाई नियन्त्रणमा लिएको लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ‘खड्कालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ,’ उनले भने, ‘खोप कसरी, कहाँबाट र कसका लागि लगिएको त्यसबारे थप अनुसन्धान भइरहेको छ।’

यता खडकाले आफू होटेलमा बसेकाले स्वास्थ्य कार्यालयको गाडीले यहाँ ल्याएर छाडेर गएको प्रतिक्रिया दिएका छन्। बिर्तामोड स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले होटलमा खोप पुगेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

कमेन्ट लोड गर्नुस