सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च पुगेका पूर्वमाओवादी नेताका वकिललाई ज्वरो र रुघाखोकी !

सुनुवाइ स्थगित

२०७८ साउन १५, ०५:४८ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रको कारवाहीपछि पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार अन्तरिम आदेशको मागसहित रिट दायर गरेका थिए। यो भनेको रिट निवेदकको सर्वोच्चसँग आपतकालीन न्याय माग हो। तर, आजको सुनुवाइ रिट निवेदक पक्षकै कानून व्यवसायीका कारण स्थगित भएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा आज पूर्वमाओवादी नेताहरूको मुद्दाको पेसी राखिएको थियो। सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका वकिलहरूले ‘ज्वरो, रुघाखोकीका कारणले आज बहस गर्न सकिएन, काबुबाहिरको परिस्थिति भएका कारणले सुनुवाइ स्थगित गरी पाउँ’भन्ने व्यहोराको निवदेन सर्वोच्चमा दिएका थिए।

हिजो भने यो मुद्दा न्यायाधीश दीपक कार्कीको इजलासमा परेको थियो । हिजो सर्वोच्च अदालतमा विसंगतिविहीन न्यायपालिका सम्बन्धमा अध्ययनन प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले उक्त मुद्दा ‘हेर्दा हेर्दै’ मा परेको थियो।

तर, आज उक्त मुद्दामा सुनुवाइ हुने स्थिति भए पनि रिट निवेदक पक्षकै वकिलहरू हच्किएका हुन्।

स्रोतका अनुसार उनीहरूमा खास ज्वरो आएको नभइ इजलासमा रहेका न्यायाधीशका कारण ज्वरो आएको हो। डा.आनन्दमोहन भट्टराईको इजलासले मुद्दा हेर्ने भएपछि रिट निवेदक पक्षका वकिलहरूले नै सुनुवाइ स्थगनको माग गरेका हुन्।

कमेन्ट लोड गर्नुस