सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिकअप गाडी खोलामा खस्दा चालकको मृत्यु, ५ जना घाइते

२०७८ साउन १५, १२:३७ खबर संवाददाता

जनकपुरधाम: धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ। पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खोलामा खस्दा पिकअप चालक महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधामममा उपचारका क्रममा मृत्यु भएको सुनारले बताए।

उक्त दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन्। घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आइरहेको पिकअप नदीमा खसेको हो।

कमेन्ट लोड गर्नुस