सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीपक्षीय नेताको माधव नेपालसँग पालैपालो छलफल

२०७८ साउन १५, १२:१८ खबर संवाददाता

काठमाडौं: नेकपा एमाले विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद नै हुन नसकेका बेला दोस्रो तहका नेताहरु एमाले एकताका लागि प्रयासरत छन्।

दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्तावप्रति वरिष्ठ नेता माधव नेपालले स्वीकार गरेका छैनन्।

कार्यदलको प्रस्तावमा सन्तुष्ट हुन नसकेका नेता नेपालले एमालेका सवै संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन्। तर अध्यक्ष ओली पक्षले जेठ २ मा फर्कने बताएपनि व्यवहारत जेठ २ को एमाले संरचनाको बैठक बस्न सकेको छैन।

ओली पक्षले जेठ २ मा फर्किसकेको भनेपनि फागुन २३ पछि गरेका निर्णय अनुसार पार्टी बैठक बोलाउँदै आएका छन्। जसप्रति माधव नेपाल समुहले असन्तुष्टि जनाउदै आएको छ। पछिल्लो पटक कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावमा अध्यक्ष ओली र नेता नेपालबीचको शक्ति बाँडफाँडबारे केही उल्लेख छैन। 

कार्यदल सदस्यहरुले दुई नेताको समझदारीमा शक्ति बाँडफाँड गर्न उनीहरुलाई जिम्मा छोडेको बताएका छन्। तर, त्यसका लागि ओली र नेपालबीच भेटवार्ता गर्न जरुरी हुने भएकाले उनीहरुबीच संवाद गराउने प्रयास कार्यदलका सदस्यसहितका दोस्रो तहका नेताहरुले प्रयास गरिरहेका छन्। दोस्रो तहका नेताहरुको यस्तो प्रस्तावपछि नेता नेपालले पहिला ओली पक्षका कार्यदलमा समेत रहेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग छुट्टै छलफल गरेर मात्रै ओलीसँग छलफल गर्ने या नगर्ने निर्णय दिने बताएका थिए।

सोही अनुसार नेता नेपालले नेम्वाङलाई बिहीबार आफ्नै निवासमा बोलाएर संवाद गरेका थिए भने त्यसको निरन्तरता स्वरुप शुक्रबार पौडेललाई समय दिएका हुन्। नेता नेपालसँग बिहीबार डेढ घण्टा भेटवार्ता गरेका नेम्वाङले आफ्नो प्रस्तावमा नेपाल पोजेटिभ रहेको बताएका थिए।   

 

कमेन्ट लोड गर्नुस