सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहुँचवालाले मात्रै पाउँछन् खोप !

२०७८ साउन १५, १२:०६ खबर संवाददाता

धनगढी : धनगढीका मुकेश चौधरी १३ गतेदेखि नै कोरोना भाइरसविरद्धको खोपको पर्खाइमा छन्। १३ र १४ गते दिनभरी लाइन लागेर पनि खोप लगाउन नपाएका उनी १५ गते कवर्ड हलमा भेटिए। ‘१३ र १४ गते वडामै खोप केन्द्र थियो,’ उनले भने, ‘तर त्यहाँ लगाउने पालो नै आएन। आज धनगढीको कवर्ड हलमा आएको छु। यहाँ पनि पालो आउने सम्भावना देख्दिन्।’

चौधरीकै जस्तो गुनासो चेतराज जोशीको पनि थियो। ‘पहुँचवालाले मात्रै खोप पाइरहेका छन्,’ उनले भने, ‘हामी जस्ता सर्वसाधारण भने दिनभरी लाइन लागेर साँझ खोप लगाउन नपाएरै फर्किन बाध्य छौ।’ यस पटक नेपाल सरकारले ५५ वर्षमाथिका नागरिक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सह–चालक तथा खोप अनिर्वाय गरिएका देश जाने नागरिकलाई मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउने मापदण्ड बनाएको थियो। तर धनगढीमा पहुँचको भरमा १८ वर्षमाथि उमेर भएका व्यक्तिलाई खोप लगाइएको हो। शुक्रबार वडाको खोप केन्द्र हटाएर कवर्ड हलमा मात्रै खोप लगाउन सुरु भएपछि पार्क मोडदेखि नै लाइन छ। 

धनगढीमा मात्र नभएर सुदूरपश्चिमका अधिकासं जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशले भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी तीन लाख ३५ हजार डोज खोप पाएको छ। प्रदेशका लागि एक लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल खोप आएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। 

साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो। सुदूरपश्चिममा यसअघि कोभिसिल्ड र भेरोसेलको पहिलो र दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४२ हजार ८ सय ८३ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन्।

तीमध्ये दोस्रो मात्रा लगाउनेको संख्या ३४ हजार ५० जना छ। यस्तै, यस प्रदेशमा कोभिसिल्ड पहिलो मात्रा २ लाख ५ हजार ५ सय ६ जनाले पाएका छन्। तीमध्ये ३७ हजार ९ सय ६ जनाले मात्रै दोस्रो मात्रा पाएको निर्देशनालयको तथ्यांक छ। 
 

कमेन्ट लोड गर्नुस