सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउने १५ पर्व मनाइँदै

२०७८ साउन १५, १०:१५ रासस

महोत्तरी: जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ। खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन्। जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ।

सामान्यतया असार र साउन मासको धान रोपाइँमा हिलोमा धसिएर काम गर्दा चिसाले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ। यद्यपि यसपालि असार मध्यपछिको मुसलधारे बर्खासँगैको भेलले रोपेको रोपो बगाएको, गलाएको र त्यसयताका बीउको अभाव एवं डुबान समस्याले अपेक्षित रोपाइँ नभएको यहाँका किसान बताउँछन्।

वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुशीले भन्दा परम्परा थेग्न मात्रै साउने १५ पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ। पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा भौँतारिनुपरेको धेरैजसोले बताएका छन्। 

पर्वको अवसरमा दूधको एक्कासि अभाव भएको र मूल्य पनि आकासिएको सर्वसाधारणको गुनासो छ। बस्तीमा पछिल्लो एक वर्षयता ६० प्रतिलिटर पाइँदै आएको दूध आजचाहिँ ८० मा पनि नपाइएको भङ्गाहा–४ रामनगरकी दीपमाया श्रेष्ठ बताउँछन्। जिल्लाका बर्दिवास, गौशाला र औरहीका बजार क्षेत्रमा पनि दुग्ध पसलमा आज दूध लिनेको भिड छ।

साउने १५ पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँचेलालाई निम्ता गरेर खिर ख्वाउने पुरानो परम्परा रहेको बूढापाका बताउँछन्। जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन्।

कमेन्ट लोड गर्नुस