सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली सत्ता बाहिर गएपछि केही नेताहरूले मुसा प्रवृत्ति देखाइरहेका छन् : झपट रावल

२०७८ साउन १४, ०३:३२ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका सांसद झपट रावलले केपी शर्मा ओली सत्ता बाहिर भएपछि केही नेताहरूले मुसा प्रवृत्ति देखाइरहेको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संस्थागत संवाद हुनुपर्ने समेत बताएका छन्। 

'हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्,' रावलले लेखेका छन्, 'उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन्। अन्य मतियारहरूको कुरै नगरौं।'

उनले आफूहरूको लडाइँ सरकारमा जान नभई संसद् जोगाउन रहेको दाबी गरेका छन्। उनले आफूहरूका कारण संसद् जोगिएको समेत उल्लेख गरेका छन्। 

'हाम्रो लडाइँ संसद् जोगाउनका लागि थियो, सरकारमा जान र मन्त्री बन्नका लागि थिएन। हाम्रो कारण संसद् जोगिएको छ। हामी सबैले सामूहिक रूपमा राजनीतिक जीवनलाई दाउमा राखेका थियौ', उनले लेखेका छन्, 'मूलत: हाम्रो पार्टीको एकताका लागि वैशाख २७ गते संसद् बैठकमा अनुपस्थित हुने २८ सांसद र संसद् विघटन पछि प्रतिनिधि सभा बचाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने २३ जना सांसद एमाले जोगाउने प्राथमिकता हो। विधि, पद्धतिबाट पार्टीलाई संस्थागत आधारमा चलाउने गरी सम्मानजनक एकता अहिलेको आवश्यकता हो।' 

जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने उनको भनाइ छ। 'सुदृढ र सबल एमालेको विकल्प छैन। आयाराम गयारामहरूको उक्साहटमा कोही पर्न हुन्न। समयको माग पनि यही हो। सबैलाई समयमै चेतना होस्, 'रावलले लेखेका छन्। 

कमेन्ट लोड गर्नुस