सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव अधिकारबारे बोल्ने एक अर्बपतिलाई १८ वर्ष जेल सजाय

२०७८ साउन १४, ०३:२४ खबर संवाददाता

काठमाडौं : चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने एक अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। अर्बपति सुन डउमाथि विवाद सिर्जना गर्न खोजेको र विषयलाई भड्काउने प्रयास गरेको आरोप लगाइएको थियो।

चीनमा प्रजातन्त्र र मानव अधिकारको वकालत गर्ने व्यक्तिहरुलाई सोही मुद्दा लगाइने गरेको बताइन्छ । यसमा डउ पनि दोषी पाइएका हुन्। उनी चीनको सबैभन्दा ठूलो निजी कृषि व्यवसायका मालिक हुन्।

६७ वर्षीय डउमाथि अवैध रुपमा कृषि फार्मको जमिन हडपेको, राज्यका निकायमाथि आक्रमण गर्न भीड जम्मा गरेको र सरकारी कर्मचारीलाई आफ्नो काम गर्न नदिएको जस्ता आरोप पनि लगाइएको छ। उनलाई ३१ लाख १० हजार युआन बराबरको जरिवाना पनि गरिएको छ।

डउको कम्पनीले चीनमा मासु प्रशोधनदेखि स्कुल तथा अस्पताल पनि सञ्चालन गर्दै आएको छ। उनलाई गत वर्ष पक्राउ गरिएको थियो। सरकारी कम्पनीसँगको जमिनको विवादमा डउसहित २० आफन्त र व्यावसायिक साझेदारहरु पक्राउ परेका थिए।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार पक्राउ पर्दा उनले यो विवादमा प्रहरीसँग भएको झडपमा आफ्ना दर्जनौं कर्मचारी घाइते भएको बताएका थिए। डउले यसअघि पनि सरकारी नीतिको आलोचना गर्दै आएका थिए। यसअघि सन् २००३ मा पनि उनी अवैध सहयोग उठाएको आरोपमा पक्राउ परेका थिए । तर आम मानिसहरुको सहयोग र व्यापक विरोधपछि उनी छुटेका थिए।

एजेन्सीहरुको सहयोगमा

कमेन्ट लोड गर्नुस