सुदूर नेपाललाई विश्वसँग जोड्दै

आसेपासेलाई मन्त्रालयमै खोप लगाउँदा कार्यकक्षमा रहेका मन्त्री भन्छन्, ‘मलाई थाहा थिएन’

२०७८ साउन १४, १२:४६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा पनि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप अभियान बुधबारदेखि सुरु भएको छ। प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहले तोकेको केन्द्रबाट खोप उपलब्ध गराइरहेका छन्। 

५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप अभियानमा प्राथमिकतामा राखिएको छ। तर सुदूरपश्चिममा प्रदेशमा भने संघीय सरकारले निर्धारणको गरेको प्रावधान विपरित खोप लगाइएको छ। 

प्रदेशको स्वास्थ्य अर्थात सामाजिक विकास मन्त्रालयले नै संघीय सरकारको मापदण्डलाई वेवास्था गरी आफ्नै कार्यालयमा मन्त्री र कर्मचारीका आसेपासेलाई गोप्य रुपमा खोप लगाइरहेको खुलासा भएको हो। बुधबार अपराह्न ४ बजेपछि कार्यालय समय सकेर मन्त्री र कर्मचारीका आसेपासेलाई खोप लगाइएको पाइएको छ।  

मन्त्रालयको हलमा दुवै ढोका बन्द गरेर गोप्य रुपमा खोप लगाइरहेको बेला पत्रकार पुगेपछि उनीहरुको भागाभाग भएको थियो। खोप लगाइरहेको हल भएकै तलामा मन्त्रीको कार्यकक्ष रहेको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का पनि उक्त समयमा आफ्नै कार्यकक्षमा थिए। तर आफ्नै कार्यालयभित्र सरकारको प्रावधान विपरित कोरोनाको खोप लगाइरहेको विषयमा भने जानकारी नभएको मन्त्री खड्काले त्यतिबेला बताएका थिए। उनले भनेका थिए, ‘म अन्य काममा व्यस्त भए, त्योबारे बुझ्दै छु। अहिले तपाईहरुबाट मलाई पनि थाहा भयो। कहाँ कमजोरी भएको रहेछ त्यो म खोज्छु।’ 

तपाईको कार्यालय भित्र के भइरहेको छ थाहा हुँदैन ? भन्ने प्रश्नमा मन्त्रीले भनेका थिए ‘कहिलेकाँहि बाहिर जान नपाएपछि के भइरहेको छ भन्ने थाहा नहुन सक्छ, अब व्यवस्थित गर्छु।’
 

कमेन्ट लोड गर्नुस