सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिँचाइ बाँध निर्माण

२०७८ साउन १३, ०५:५७ रासस

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताए। बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी  प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिए।

सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो। स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई÷तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

सिँचाइ बाँध निर्माणसँगै धनगढी–६ जाइ जालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताए। उनका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस