सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली सरकारको प्रगतिः एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र

२०७८ साउन १३, ०२:१५ रासस

सुर्खेत : कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ। आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रगतिको समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइएको हो।  एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव दुई किलोमिटर नयाँ सडक बनाइएको छ।

त्यस्तै प्रदेश सरकारले कर्णालीमा  ११ झोलुङ्गे पुल र सातवटा सडक पुल निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।  ऊर्जा तथा विद्युतीकरणबाट कर्णालीका तीन हजार ५४० घरधुरीमा विद्युत् सुविधा विस्तार गरेको  कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्। मन्त्री नेपालीका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्न समुदायका ७६७ घर निर्माण कार्य पूरा भएको छ। 

कर्णाली प्रदेश सरकारले  दुई हजार १४५ हेक्टर जमीनमा थप सिँचाइ सुविधा उपलब्ध गराएको छ भने पाँच हजार ७१० थप घरधुरीमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराइएको प्रवक्ता नेपालीले बताइन्। त्यस्तै सरकारले नदी नियन्त्रणका लागि १८ दशमलव ७७ किलोमिटर तटबन्धन निर्माण गरेर १८० हेक्टर थप जमीन उकास भएको  छ।

विभिन्न कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन निर्माण लगायतका पूर्वाधार निर्माणका कार्य सम्पन्न भएको प्रगतिमा उल्लेख गरिएको छ  ।

कमेन्ट लोड गर्नुस