सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा एमबीबीएस सुरु गर्न आग्रह, डडेल्धुरा वा डोटीमा मेडिकल कलेज खोल्न माग

२०७८ साउन १२, ०१:५० खबर संवाददाता

धनगढी : प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाएका छन्। गेटा मेडिकल कलेजमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएसको पढाई सुरु गर्न पनि डाक्टर केसीले खबरदारी गरेका छन्।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्नुपर्छ,’ केसीको खबरदारी पत्रमा उल्लेख छ। 

६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २७ वटा पूर्वाधार संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। तर सञ्चालनको प्रारुप तय नहुँदा सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज सञ्चालनमा ढिलाई हुने देखिएको छ। पञ्चायती व्यवस्थादेखि नै सुदूरपश्चिममा मेडिकल कलेज निर्माण हुने चर्चा थियो।

तर गणतन्त्र स्थापना हुन अघिसम्म भने मेडिकल कलेजको निर्माणबारे अन्यौलता नै थियो। २०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो। तर वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्नुपर्ने र वनले वर्षाैसम्म सहमति नदिएपछि मेडिकल कलेज निर्माणको प्रक्रिया ०७३ पछि मात्रै सुरु भएको थियो।

यस्तै डाक्टर केसीले डोटी वा डडेल्धुरामा मेडिकल कलेज खोल्नका लागि पनि प्रधानमन्त्री देउवालाई खबरदारी गरेका छन्। ‘२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्छ। हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्छ,’ खबरदारी पत्रमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस