सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सरकार फेरबदलको सम्भावना कति ?

२०७८ साउन १२, ०६:३१

धनगढी : नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव समूह र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। अब सोहीअनुसार प्रदेशमा पनि सरकार बनाउने गठबन्धनमा रहेका दलहरुको तयारी छ। सुदूरपश्चिम प्रदेशमा पनि नेपाली काँग्रेस र एमालेको माधव समूहले आफ्नो नेतृत्वमा सरकार बनाउनेबारे छलफल केन्द्रीत पारेका छन्।

माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशमा विश्वासतको मत लिदा तटस्थ बसेको नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा माओवादी, एमालेको माधव समूह र जसपालाई मिलाएर सरकार बनाउने कसरत सुरु गरेको हो। काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले काँग्रेसकै नेतृत्वमा सरकार बनाउनेबारे छलफल भइरहेको दाबी गर्दै आएका छन्। 

‘सरकारको नेतृत्व गर्नेबारे छलफलमा भइरहेको छ। तर अझै टुंगो लागेको छैन्,’ उनले भने। यता माओवादीले साढे तीन वर्ष सरकारको नेतृत्व गरिसकेको भन्दै नेकपा एमालेको माधव समूहले पनि सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ। यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन्।

उनले अहिले सरकारको नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताए।  उनले भने, “प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो।” मुख्यमन्त्री भट्टले सरकार परिवर्तन हुने भन्ने निराधार हल्ला तथा भ्रमका पछि नलाग्न र विकासका योजना तथा महामारी नियन्त्रणका क्षेत्रमा लाग्न सबैमा आग्रह गरेका छन्।

उनले अहिले देशकै राजनीतिक समीकरण परिवर्तन भएकाबेला प्रदेश सरकार हेरफेर भए पनि नौलो कुरा नहुने जानकारी दिए। दुई तिहाइको सङ्घीय सरकार आफ्नै कारणले विघटन भए पनि सुदूरपश्चिम सरकारले एमालेसँगको गठबन्धन प्राथमिकतामा राखेको र यो कुनै पनि हालतमा नटुट्ने उनले जिकिर गरे। 
 

कमेन्ट लोड गर्नुस