सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमवासीलाई झुक्याउन धनगढी विमानस्थलको २० वर्षे गुरुयोजनाको 'नाटक रचियो'

२०७८ साउन ११, ०६:५१ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः २०७६ माघ २५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको टोली धनगढी विमानस्थल स्तरोन्नति सम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक गर्न दलबल लिएर धनगढी आइपुगेको थियो। 

मन्त्रीकै उपस्थितीमा धनगढी विमानस्थललाई अन्तराष्ट्रिय मापदण्डमा स्तरोन्नती गर्न रियल पथ इन्जिनीयरिङ कन्सल्टेन्सीले २० वर्षे गुरुयोजना तयार पारेर सार्वजनिक समेत गर्‍यो। 

तर स्थानीयको २२७ विघा जमिन अधिग्रहण गरेर विमानस्थल बिस्तार गरिने भन्दै गुरुयोजना सार्वजनिक भएपछि विमानस्थल आसपासको जमिन खरिदविक्री हुन छोडेको स्थानीयको गुनासो छ। 

उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना सार्वजनिक गरिएपछि ती स्थानहरुमा स्थानीयले पक्की भौतिक संरचना बनाउन समेत छोडेका छन्।  स्थानीयलाई अन्योलमा राखेर राज्यले नै झुक्याउने काम गरेको स्थानीयको गुनासो छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की स्थानीय रमा भट्टले गेटा विमानस्थल आसपासको जग्गा विक्री हुन छोडेको बताइन्। ‘जग्गा खोज्दै आउनेहरु पनि बुझ्दै गएपछि विमानस्थलले पछि अधिग्रहण पो गर्ने हो की भनेर फर्किने गरेका छन्’ उनले भनिन्। जग्गा अधिग्रहणको विषयले त्यहाँका स्थानीय स्थायी भौतिक संरचना समेत बनाउन डराइरहेको अवस्था छ। ‘विमानस्थलका लागि चाहिने जमिन लिएर बाँकी अन्योलता हटाइदिएको खण्डमा हामी निकै खुशी हुने थियौ’ भट्टले भनिन्।

स्तरोन्नतिको हल्ला मात्रै हुँदा अन्योलता बढेको अर्का एक स्थानीयले बताए। ‘न जग्गा अधिग्रहण हुन्छ न हामीले भएको जग्गा बिक्री गर्न पाएका छौँ। भौतिक संरचना पनि निर्माण गर्न पाएका छैनौ। गुरुयोजनाको नाममा नाटक रचेको जस्तो भयो’ उनले भने। 

गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड गरी कुल १२ अर्ब १४ करोड लागतसहितको प्रतिवेदन सार्वजनिक गरिएको थियो।

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी २० वर्षे गुरुयोजना तयार पारिएको थियो। तर गुरुयोजनाअनुसार त्यहाँ अहिलेसम्म कुनै काम हुन सकेको छैन। त्यति ठुलो योजना अहिलेकै अवस्थामा राज्यले बनाउनै नसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको दाबी छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणकाका निर्देशक प्रदिप अधिकारीले त्यति ठुलो योजना बन्छ भन्नेमा आफुलाई कुनै विश्वास नभएको बताए। स्थानीयको त्यति ठुलो जमिन अधिग्रहण गरेर लिन्छु भनेर झुक्याउन नहुने उनी बताउँछन्। ‘त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता, नागरिक समाज तथा जनप्रतिनिधिले जोडबल नगरेसम्म थप प्रक्रिया अघि बढ्ने अवस्था देखिदैन’ निर्देशक अधिकारीले भने।

प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तार कार्यका लागि थप २२७ विघा जमीन अधिग्रण गर्नुपर्ने उल्लेख गरेपछि गेटा आसपासको क्षेत्रमा जग्गा खरिद गर्न आउनेहरु डराउने गरेको जनप्रतिनिधि बताउँछन्। 

विमानस्थल विस्तारका लागि जग्गा आवश्यक पर्ने भए स्थानीय जमिन दिन तयार छन्। विमानस्थल विस्तारको प्रक्रिया पनि अघि नबढाउने र चारकिल्ला समेत प्रमाणिकरण नभइसकेको अवस्थामा स्थानीयलाई जग्गा खरिदविक्री गर्नै समस्या भइरहेको धनगढी उपमहानगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष विजयराज जोशी बताउँछन्। 

‘स्थानीयलाई विश्वस्त हुने गरी जग्गा अधिग्रहण र विमानस्थल विस्तारको प्रक्रिया थाल्नुपर्छ’ उनले भने, ‘जग्गा अधिग्रहण गर्ने हल्लाले विमानस्थल आसपासको जमिन खरिदविक्रीको प्रक्रिया नै रोकिन पुगेको छ’ उनले भने।

उता नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यति ठुलो योजनालाई तत्कालन अघि बढाउन नसकिने बताउँदै आएको छ। स्थानीयको दाबाबबीना र राज्यले बजेटको व्यवस्थापन नगरेसम्म थप प्रक्रिया अघि बढाउन नसकिने प्राधिकरणका निर्देशक अधिकारीले बताए।  
 

कमेन्ट लोड गर्नुस