सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्याका तीन वर्ष : भासी कनेक्सन खोज्दै प्रहरी

२०७८ साउन ११, ०७:०३ खबर संवाददाता

धनगढी : कञ्चनपुरकी किशोरी मृत फेला परेको सोमबार तीन वर्ष पुगेको छ। ०७५ साउन १० गते वेपत्ता भएकी निर्मला दोस्रो दिन अर्थात आजकै दिन घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्। मेडिकल  रिपोर्टले बलात्कारपछि हत्या गरेको पुष्टि भएको थियो। निर्मला हत्याको तीन वर्ष पुगेपनि दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी असफल देखिएको छ। 

तर घटनाको अनुसन्धानमा अहिले पनि तीन वटा टोली सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले भने, ‘जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयको टोली अनुसन्धानमा सक्रिय छ। हरेक कोणबाट अनुसन्धान भइरहेको छ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार अहिलेसम्म घटनाबारे हजार बढीसंग सोधपुछ भएको छ भने झण्डै एक सय जनाको डीएनए परीक्षण भएको छ।

प्रहरीले निर्मलाका सहपाठी, आफन्त, स्थानीय व्यक्ति, नजिकका विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी, त्यही बाटो भएर हिँडडुल गर्ने व्यक्ति, अनुसन्धानमा खटिएका प्रहरीमाथि अनुसन्धान गरेको छ। अहिले प्रहरीले भासी कनेक्सन खोजीरहेको एक अधिकारीले बताए।

‘निर्मला पन्तको घर भीमदत्त नगरपालिकास्थित उल्टाखाम भए पनि बुवा यज्ञराज र सौतेनी आमा बस्दै आएको भासीको घर पनि पटकपटक जाने गरेकी थिइन्। त्यसैले प्रहरीले भासीलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ,’ ति अधिकारीले भने। निर्मलाकी आमा दुर्गादेवीले पनि पछिल्लो समय प्रहरी भासी केन्द्रीत भएको बताइन्। ‘आजभोलि निर्मलाको सोधपुछका लागि पनि प्रहरी उतै जान्छन् भन्ने सुनेकी छु,’ दुर्गाले भनिन्। 

आइतबार निर्मलाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसहित कञ्चनपुरबाट प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन पत्र बुझाइयो। सो क्रममा पनि यज्ञराज र निर्मलाकी सौतेनी आमा जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

यो पनि : १) आफ्नै ठाउँका प्रधानमन्त्री भएछन्, अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा’ 

            २) निर्मला हत्याका तीन वर्ष : भयभित दुर्गा

           ३) निर्मला हत्याका तीन वर्ष : हजार बढीसँग सोधपुछ, सय जनाको डीएनए परीक्षण, उघ्रिएन पर्दा

कमेन्ट लोड गर्नुस