सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको २० वर्षे गुरुयोजना बन्यो, तर विनियोजन हुँदैन बजेट

२०७८ साउन १०, ०६:४६ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढी: २०७६ सालको माघ २५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा धनगढी विमानस्थल स्तरोन्नति सम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक गरियो। धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्न रियल पथ इन्जिनीयरिङ कन्सल्टेन्सीले २० वर्षे गुरुयोजना तयार पारेर सार्वजनिक गरेको थियो। गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। तर गुरुयोजनाअनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन्। 

बजेट अभावका कारण बाँकी प्रक्रिया अघि बढाउन नसकिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण नै जिम्मेवारीबाट पन्छिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले ठूलो प्रोजेक्टका लागि बजेट नै विनियोजन नभएपछि थप प्रक्रिया अघि बढाउन समस्या भएको बताए। ‘१२ अर्ब बजेट आवश्यक पर्नेमा देशैभरीका विमानस्थलका लागि तीन अर्ब मात्र विनियोजन भएको छ। थोरै मात्र बजेट विनियोजन भएकाले यस्ता दुरगामी योजना अघि बढाउन समस्या भएको हो,’ उनले भने।

गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको तीन चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि एक अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड गरी कुल १२ अर्ब १४ करोड लागत कायम गरी गुरुयोजना तयार पारिएको थियो। 

प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तार कार्यका लागि थप २२७ विघा जग्गा आवश्यक पर्नेछ।  विमानस्थलको दक्षिणतर्फको केही क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने देखिएकोमा उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना तयार पारिएको भएपनि थप प्रक्रिया अघि बढ्न नसकेको धनगढी विमानस्थलका विमानस्थल प्रमुख तेजबहादुर बुढथापा बताउँछन्।

‘पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार यहाँको स्थानीय सरकारले समेत चासो दिनुपर्नेमा त्यो देखिदैन,’ बुढ्थापाले भने, ‘सरोकारवाला सबैले दवाब दिएपछि मात्र यो प्रोजेक्ट अघि बढाउन बल मिल्छ।’
२ हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ धावनमार्ग निर्माण गर्ने योजना छ। हालको धावनमार्गलाई जहाजको ट्याक्सी वे को रुपमा प्रयोग गर्ने, नेरोवडी जहाजको उडान र अवतरण सहजै गर्न सकिने, नयाँ टर्मिनल भवनलगायतका संरचना बनाउनुपर्ने पनि प्रस्तावित गुरुयोजनामा उल्लेख छ। १५० ओटा विभिन्न प्रयोजनका भौतिक संरचनासमेत निर्माण गर्ने गरी गुरुयोजना तयार पारिएको थियो। 

पहिलो चरणको निर्माण सन् २०२४ मा गरिसक्नुपर्ने समेत उल्लेख छ। तर प्राधिकरणका अधिकारीहरु भने विस्तारै काम हुने भन्दै जिम्मेवारीबाट पन्छिने गरेका छन्। सन् २०२५ देखि २०३० सम्ममा २ हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ धावनमार्ग, ट्याक्सी रोड, पार्क, पार्किङ, पानी ट्यांकी, इन्धन स्टेशन, शौचालयलगायत संरचना निर्माणको समययावधि समेत तोकिएकोमा अहिलेसम्म सामान्य प्रक्रिया समेत अघि बढाउन सकिएको छैन्। 

तर नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक अधिकारीले भने यसपाली बजेट अभावका कारण स्तरोन्नतिको काम अघि बढ्न नसकेपनि ढिलोचाडो प्रक्रिया अघि बढ्ने भएकाले हतार नगर्न आग्रह गरे। ‘धनगढी विमानस्थल त प्राधिकरणको प्राथमिकतामै छ,’ उनले भने, ‘जग्गा पाउन समस्या भएकाले पनि संरचना निर्माण र विमानस्थल स्तरोन्नतिको काममा ढिलाई हुँदै आएको हो।’ 

विसं २०६५ सालदेखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गरिँदै आइएको छ। आधुनिक र युग सुहाउँदो विमानस्थलको रुपमा स्तरोन्नति गर्न गुरुयोजना तयार पारिएको भएपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस