सुदूर नेपाललाई विश्वसँग जोड्दै

जननेता मदन भण्डारीका नाममा कभर्ड हल

२०७८ साउन १०, ११:५७ रासस

बागलुङ: जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका–३ चिप्लेटीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ। 

मदन भण्डारी स्पोर्टस एकेडेमीले तीन वर्ष सो संरचना तयार गरेको हो। बजेट अभावमा गत वर्ष काम रोकिएको थियो। पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम मात्र भएको थियो। मन्त्रालयबाट थप १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताए।

“कभर्ड हलको काम करिब सकियो, छिटपुट काम अहिले भइरहेको छ”, उनले भने। पछिल्लो बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगनलगायत काम गरिएको छ। कभर्ड हल निर्माणका लागि नगरपालिकाले जग्गा दिएको थियो। फलामको ट्रस प्रविधिबाट हल बनाइएको हो।

खेलकुद गतिविधिसहित अन्य सामाजिक कार्यमा समेत उपयोग हुने गरी कर्भड हल निर्माण गरिएको हो। कभर्ड हल मुख्यरूपमा ब्याडमिन्टन खेललक्षित छ। आवश्यकता पर्दा तेक्वान्दो, कराँतेजस्ता खेलका लागि पनि कभर्ड हलको प्रयोग गर्न सकिने एकेडेमीले जनाएको छ।

स्थानीयवासीले सार्वजनिक हितका काममा समेत हलको प्रयोग गर्न पाउने भएका छन्। यसका निर्माणमा ढिलाइ हुँदा यसअघि खेलप्रेमी र स्थानीयवासीले गुनासो गर्दै आएका थिए। गैह्रापाटा टोल सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्ड हल बनेपछि खेलकुदसँगै सामाजिक गतिविधिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

नयाँ खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवद्र्धनका लागि कभर्ड हल बन्नु सुखद रहेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताए। खेलाडी र खेल पूर्वाधारको विकासका लागि नगरपालिकाले समेत लगानी बढाउनुपर्ने उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस