सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षतिग्रस्त भीमदत्त राजमार्ग, यात्रुलाई सधैँ सास्ती

फोटो: बिमल बोहरा
फोटो: बिमल बोहरा
२०७८ साउन १०, ०७:०० खबर संवाददाता

–वीरेन्द्र भट्ट
धनगढी : भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको गैरादेखि भात्काडासम्म सडक डिभिजन कार्यालय डोटीले राजमार्ग स्तरोन्नती तथा पुनःस्थापना कार्यक्रम मार्फत मोड सुधारका लागि गत वर्ष दुईवटा ठेक्का ग¥यो। एक करोड ५० लाखमा मोड सुधारका लागि ठेक्का सम्झौता गरिएको थियो। 

तर ७ पहाडी जिल्लाको आवागमन नै अवरुद्ध हुने गरी मोड सुधारको काम भइरहेको स्थान अर्थात आलीताल गाउँपालिका वडा नम्वर १ कटाल गैरास्थित सडक खण्डमा पटकपटक पहिरो जान थालेको छ। चालू आर्थिक वर्षभित्रै मोड सुधारअन्तर्गत ठेक्का सम्झौता भएका स्थानमा सडक फराकिलो बनाउने काम सपन्न हुने सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले बताए।

‘राजमार्ग स्तरोन्नती तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत मोड सुधार गर्न गत आर्थिक वर्षमा दुई वटा ठेक्का सम्झौता गरिएको हो,’ इन्जिनियर अधिकारीले भने। सडकको मोडलाई फराकिलो बनाएर दुर्घटना न्यूनिकरण गर्न यस्ता कार्यक्रम देशभरीकै राजमार्गहरुमा सञ्चालन भइरहेको उनले बताए। सडक डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरले महाकाली हाइवेअन्तर्गत अत्तरियादेखि फल्टुडेसम्मको सडक हेर्दै आएको छ। राजमार्गका अधिकांश स्थानमा सडक भत्किनुका साथै ठाउँठाउँमा चिरा परेको सवारी चालकहरुको गुनासो छ। 

महाकाली हाइवेअन्तर्गत मोड सुधारका कुनै कार्यक्रम नभएपनि ठाउँठाउँमा भत्किएको सडकका कारण दुर्घटनाको जोखिम भन्ने उच्च छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी एवं इन्जिनियर लक्ष्मणदत्त जोशीले आफ्नो कार्यक्षेत्रभित्रको सडक मर्मत तथा पुनःस्थापनाका लागि नियमित रुपमा काम भइरहेको बताए। 

‘अत्तरियादेखि फल्टुडेसम्म मोड सुधारका लागि हामीसँग कुनै कार्यक्रम छैन। यो खण्डभित्र सडक खवरुद्ध हुने अहिलेका लागि कुनै संभावना छैन, ’ उनले भने। अत्तरियादेखि फल्टुडेसम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले हेर्दै आएको छ भने फल्टुडेदेखि डडेल्धुरासम्म सडक डिभिजन कार्यालय डोटीले हेर्दै आएको छ।

गैरादेखि भात्काडा हुँदै साहुँखर्कसम्म मोड सुधारअन्तर्गत सडकका मोडहरु फराकिलो बनाई दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ठेक्का सम्झौता गरिएको भएपनि सम्झौताअनुसार निर्माणले अपेक्षित गति लिन सकेको छैन्। तर सडक डिभिजन कार्यालय डोटीले भने सडकको मोड सुधार कार्यक्रम यो अन्तिम भएको बताएको छ। आगामी वर्षदेखि मोड सुधार कार्यक्रम नै सञ्चालन नहुने कार्यालयले जनाएको छ। सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर अधिकारीले भने, ‘भीमदत्त राजमार्ग अन्तर्गत मोड सुधारका यी अन्तिम दुईवटा ठेक्का हुन। आगामी दिनमा यस्तो कार्यक्रम सञ्चालन हुँदैन।’

कमेन्ट लोड गर्नुस