सुदूर नेपाललाई विश्वसँग जोड्दै

साविक विजेता सिद्धार्थ र क्यास्पीयन एकेडेमीको विजयी सुरुवात

निष्ट  लिटिल फ्लावर प्रिमियर लिग सुरु 

२०७५ कार्तिक २७, ०६:२८

देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग धनगढीमा सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा लिगको तेस्रो संस्करण सुरु भएको हो । मंसीर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी भएका छन् ।

आज भएको उद्घाटन खेलमा सिद्धार्थले निष्ट भक्तपुरलाई हराएको हो भने दोस्रो खेलमा क्यास्पीयन एकेडेमीले शारदा माविलाई हराएको हो । टि–२० फरम्याटको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पीयन सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित दर्ता हासिल गरेको हो ।  समूह ए को उद्घाटन खेलमा टस जितेर पहिले व्याटिङ गर्दै सिद्धार्थ सिसु सदनले समय अभावले १० ओभरमा घटाईएको खेलमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनायो । सिद्धार्थका लागि गजेन्द्र बोहोराले १८, सुरेन्द्र साउदले अविजित १५ र खडक बोहोराले १४ रन वनाए । निष्ट भक्तपुरका लागि कप्तान सोहन यादवले २ विकेट लिए । ६४ रनको विजयी लक्ष्य पछ्याएको निष्ट भक्तपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो । निष्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनि आफ्नो टीमलाई जिताउन सकेनन् । सिद्धार्थलाई जिताउन प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ विकेट लिए । खेलको म्यान अफ द म्याच हुँदै उनले नगद एक हजार सहित ट्रफी पाए । 

आज नै भएको दोस्रो खेलमा अर्को धनगढीको टीम क्यास्पीयन एकेडेमीले शारदा माविलाई १४ रनले किनारा लगायो । टस जितेर पहिले व्याटिङ गरेको क्यास्पीयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय एक रन वनायो । उसका लागि दिनेश अधिकारीले ३०, प्रकाश पाठक २० र निशान बोगटीले १८ रन बनाए । शारदाले क्यास्पीयनका चार जना खेलाडीलाई रनआउट गरेको थियो । एक सय २ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको शारदा १६ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । शारदाका लागि दिपक टमट्टाले ३४ र जीवन मगरले २२ रन वनाउनु वाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । क्यास्पीयनलाई जिताउन रोशन अधिकारीले ६ विकेट लिए । निराजन रावलले २ विकेट लिए । ६ विकेट लिएका रोशन म्यान अफ द म्याच भए । उनले नगद एक हजार सहित ट्रफी पाए । प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदाक्षा काठमाण्डौ र एवीसी स्कुल नेपालगंज बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको यसअघि धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ ।  
प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निष्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भईरहेको छ । प्रतियोगितामा देशभरिका १२ टिमले सहभागीता जनाएका छन् । 

 

कमेन्ट लोड गर्नुस