सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

२०७८ साउन ९, ०५:२३ रासस

नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन्।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन्। 

कुल सङ्क्रमित मध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ। ती मध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या बढेको छ। 

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ। सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। 
 

कमेन्ट लोड गर्नुस