सुदूर नेपाललाई विश्वसँग जोड्दै

आतंक राज रोक्नका लागि युथ फोर्स जन्मियो : ईश्वर पोखरेल

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ९, ०३:४१ खबर संवाददाता

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आतंकको राज रोक्नका लागि युथ फोर्स जन्मिएको बताएका छन्। युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पोखरेलले युथ फोर्सको सुरुवात सम्झेका हुन्। 

आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए। माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो। 

अहिलेको अवस्थामा पनि एक प्रकारको राजनीतिक आतंक सिर्जना हुने अवस्था देखिएकाले युथ फोर्सको सान्दर्भिकता देखिएको महासचिव पोखरेलले बताए। उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए। 

महासचिव पोखरेलले अहिलेको सत्तारुढ गठबन्धनले जनताको विपक्षमा, राजनीतिक रुपमा गडबडी गर्न थालेमा युथ फोर्सले त्यसलाई रोक्नुपर्ने जिम्मेवारी आएको बताए। उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्रचार र लागु गर्नका लागि पनि युथ फोर्सले काम गर्नुपर्ने बताए। 

अब युथ फोर्सले आतंकविरुद्ध लड्दै देश र जनताको पक्षमा काम गर्नुपर्ने पोखरेलले बताए। उनले जनताको कृषि तथा औद्योगिक उत्पादन, वितरण र स्वरोजगार तथा आयस्तर वृद्धिका लागि युथ फोर्सले काम गर्नुपर्ने बताए। 

कमेन्ट लोड गर्नुस