सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत् प्रवाह सुधार्न माग

२०७८ साउन ८, ०६:१२ रासस

रामेछाप: रामेछापमा बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सेवा सुधार गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ।

मानवाधिकार संरक्षण सञ्जाल रामेछापले बिहीबार नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहाललाई भेटी विद्युत् सेवा नियमित गर्न ध्यानाकर्षक गराएको हो। सञ्जालकातर्फबाट मानव अधिकारकर्मी, पत्रकार, नागरिक अगुवासमेतको टोली कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको थियो। ध्यानाकर्षक पत्रमा बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण जल्ने समस्या बढेको नागरिक समाजको गुनासो छ।

यसैगरी बारम्बार विद्युत् अवरुद्ध हुँदा अनलाइनबाट पढ्नुपर्ने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। सरकारी सेवा, बैंक, वित्तीय संस्था र अन्य सेवासमेत अनलाइनबाट सञ्चालन हुने वर्तमान अवस्थामा विद्युत् सेवा अवरुद्ध हुँदा सबै क्षेत्र प्रभावित भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख दाहालले सेवा नियमित गर्ने विषयमा आफू गम्भीर रहेको बताए। वर्षाका कारण केही दिनयतादेखि विद्युत् प्रसारणमा समस्या आएको उहाँले स्वीकार्नुभयो । उनले समस्या समाधानको लागि आफू र आफ्नो टिम खटिरहेको र छिटोभन्दा छिटो समस्या समाधान गर्ने प्रयत्न गरिरहेको बताए।

रामेछापमा केही दिनयतादेखि दैनिक कैयौँपटक विद्युत् आउने र जानेक्रम चलिरहेको छ । जसले गर्दा फ्रिज, टेलिभिजन, कम्प्युटरलगायत उपकरण जलेर सर्वसाधारणको क्षति भएको छ।

 

कमेन्ट लोड गर्नुस